close

मुवा झरना संरक्षण र विकासमा जुट्यो फालेलुङ

मुवा झरना संरक्षण र विकासमा जुट्यो फालेलुङ

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथर जिल्लामा पछिल्लो समय मुवा झरनाको चर्चा बढ्नुका साथै यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेर गएको छ । उत्तरी फालेलुङ गाउँपालिकाका वडा नं. ५ र ६ नम्बरको सिमानामा रहेको यो झरना आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको छ ।


लेकबाट आएको पानीबाट झरना झरेको आकर्षक दृश्यमा लोभिएर यो ठाउँमा पुग्नेको संख्या बढिरहेको छ । यो झरनालाई चर्चित बनाउनका लागि स्थानीय सरकारले प्रचारप्रसार गरेको थियो । यति मात्र होइन, फालेलुङ गाउँपालिकाका वडा नं.- ५ र ६ ले यो झरना क्षेत्रमा पूर्वाधार विकासको काम पनि सँगसँगै अघि बढाएका छन् । झरनाको माथिबाटै झोलुङ्गे पुल बनेपछि आवागमनमा मात्र सजिलो भएको छैन, आकर्षण पनि उत्तिकै थपिएको छ । यस ठाउँको प्रचार, सडक, पदमार्ग, चौतारी, खानेपानीलगायतका अन्य पूर्वाधार निर्माण तथा विकासको काम स्थानीय सरकारले गरिरहेको छ ।


‘जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतमा राखेर मुवा झरनाको प्रचार गर्‍यौँ । सुरुमा यो ठाउँको प्रचारका लागि ५० हजार छुट्यायौँ । एकपछि अर्को गर्दै आन्तरिक पर्यटक आउन थाल’, वडा नं.- ६ की वडा अध्यक्ष सुजाता बान्तवा राईले भनिन्, ‘गाउँपालिका, दुवै वडा मिलेर विकासका काम गरिहेका छौँ । सडक बर्सेनि बनाउन थालेका छाँै । हरेक पल्ट बजेट विनियोजन गरेर पूर्वाधार बनाइरहेका छौँ ।’


फालेलुङ गाउँपालिकाभित्र रहेका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एक रहेको यस झरनामा जुनसुकै महिनामा पनि पानी हुने भएकाले पनि यसको महत्त्व बढिरहेको मानिन्छ । पहराको बीचबाट झरेको यस झरनामा रमाउन दैनिक आन्तरिक पर्यटकहरू पुग्छन् ।


सदरमुकाम फिदिमदेखि ३५ किलोमिटर टाढा रहेको यस ठाउँमा मोटरसाइकल तथा गाडी रिजर्भ गरेर पुग्नेको संख्या पनि उलेख्य रहेको छ । फिदिम-फालोट सडक कालोपत्रे भइसकेपछि थप पर्यटक आउने अपेक्षा स्थानीयको छ । पर्यटक बढेपछि गाउँपालिकाले लगानी बढाएको छ । स्थानीयवासीले आम्दानी हासिल गर्न थालेका छन् । पर्यटकको चहपहल पढेपछि स्थानीय स्तरमा संरक्षण समिति बनाएर काम भइरहेको छ ।


‘गाउँपालिका, वडा, स्थानीय दीप ज्योति युवा क्लबले ठूलो योगदान गरेका छन् । हामी पनि यस क्षेत्रको विकासमा लागिपरेका छौँ’, मुवा झरना संरक्षण समितिका सहसचिव प्रदीप राईले भने, ‘अहिले दिनैजसो घुम्न आउने क्रम बढेको छ । शनिबार र बिदाको दिन त भीड नै लाग्छ ।’


धेरै ठाउँमा वर्षायाममा मात्र पानी हुने झरना छन् तर मुवा झरनामा १२ महिनै पानी हुन्छ । यो क्षेत्र जैविक विविधताको धनी तथा अन्य पर्यटकीय गन्तव्यसँगै रहेकाले पनि महत्त्वपूर्ण छ । चर्चित पर्यटकीय गन्तव्य सन्दकपुर, फालोट नजिक रहेकाले त्यहाँ आउने विदेशी पर्यटकलाई पनि मुवा झरनासम्म ल्याउन पहल गर्नुपर्ने स्थानीयको माग छ ।