close

पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान (भिडियो खबर)

पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान (भिडियो खबर)

Trulli
ADVERTISEMENT

पाल्पा- कोरोनाका कारण शिथिल बनेको पाल्पाको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको छ । कोरोनाले हर क्षेत्रलाई असर पारिहेका बेला पाल्पामा भने नयाँ-नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । 

 

त्यसै क्रममा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ मरामकोटस्थित मिराङलुङ आन्तरिक पर्यटकका लागि अहिले नयाँ गन्तव्य बनेको छ । 


अहिले पाल्पा भ्रमणमा आउने जोकोहीको रोजाइ बन्न पुगेको छ, मरामकोटस्थित मिराङलुङ डाँडा । एकै स्थानबाट तराई, पहाड र हिमाल हेर्न सकिने भएकाले अहिले दैनिक सयौँको संख्यामा पयर्टक मरामकोट पुग्ने गरेका छन् ।

 

यहाँबाट माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ भने तराईतिरका बुटवल, भैरहवा तथा भारतका समेत विभिन्न भाग देखिन्छ । एक पटक पुगेका पर्यटक यो स्थान दिगो पर्यटकीय स्थल बन्न सक्ने पर्यटकको विश्वास छ ।


सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डको जोरधारा नजिकबाट करिब ४० मिनेटको पैदल यात्रा अथवा १५ मिनेटमा गाडीको यात्रामा मिराङलुङ पुग्न सकिन्छ । अहिले यहाँ जान बाटो निर्माण गर्ने, होमस्टे व्यवस्थित गर्ने, रेलिङ निर्माणको काम भइरहेको मरामकोट पर्यटन विकास समितिका अध्यक्ष दुर्गा दर्लामीले बताए ।


मगर बहुल बसोबास मरामकोटमा मगर संस्कृति, रहनसहन र परम्परागत जीवनशैली नजिकबाट बुझ्न सकिन्छ । स्थानीयले नै हेरचाह गरिरहेको मरामकोटमा पर्यटकले लोपोन्मुख कौरा, मारुनी, सोरठीलगायतका नृत्य हेर्न सक्छन् । 

 

पालिकाले एक वडा एक पर्यटकीय गन्तव्य बनाउने योजनासहित मरामकोटको विकासमा विशेष योजना साथ विकास गरेको हो । मरामकोट पुग्न केही अप्ठ्रो भए पनि पुगेपछि निकै रमाइलो अनुभव हुने आन्तरिक पर्यटक सुमन थापा सुनाउँछन् ।


आकर्षक पर्यटकीय स्थल बनेकाले यहाँको सौन्दर्य हेर्न र घुम्न आउने गरेका छन् । कोरोना महामारीको त्रास अझै सकिएको छैन ।

 

विश्वमा पुनः नयाँ लहर देखिन थाल्दा यस्ता गन्तव्यमा आन्तरिक पर्यटकलाई नै भित्र्याउने गरी योजना बनाउन आवश्यक छ । दिगो पर्यटनका लागि प्रदेश सरकारले पनि आन्तरिक पर्यटनलाई नै विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने देखिन्छ ।