close

धनकुटाका तीन स्थान नयाँ गन्तव्यको सूचीमा

धनकुटाका तीन स्थान नयाँ गन्तव्यको सूचीमा

Trulli
ADVERTISEMENT

धनकुटा- सरकारले छनोट गरेका देशभरका २ सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा धनकुटाका तीन वटा स्थान परेका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्य स्थल छनोट गरेको हो । 

 

मन्त्रालयले पाख्रिबास नगरपालिका वडा नं. ७ र ८ मुगामा रहेको जलदेवी सिमसार क्षेत्र, महालक्ष्मी नगरपालिकाको सिद्धेश्वर पार्क र छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटकेडाँडालाई नयाँ पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत गरेको हो ।

 

मुगामा रहेको जलदेवी सिमसार संरक्षणका लागि ७ करोड रुपैयाँ विनियोजन समेत गरिएको छ । जसमध्ये मन्त्रालयले ४ करोड ५५ लाख खर्च गर्नेछ भने बाँकी रकम साझेदारीमा खर्च हुनेछ । यो योजना ३ वर्षमा सम्पन्न हुने बताइएको छ ।

 

यसैगरी मन्त्रालयले २ वर्षमा काम सम्पन्न गर्ने गरी धनकुटाको महालक्ष्मी नगरपालिकाको सिद्धेश्वर पार्क तथा पिकनिक स्थल निर्माणका लागि १ करोड ९१ लाख छुट्याएको छ भने छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटकेडाँडा पर्यटकीय क्षेत्र निर्माणका लागि १ करोड ३० लाख छुट्याएको छ ।

 

करिब २ हजार ५० मिटर उचाईमा रहेको हलहले पटेक डाँडा धनकुटाको सबभन्दा उचाईमा रहेको स्थान हो । डाँडाबाट बाह्रै महिना मकालु र कुम्भकर्ण हिमश्रृङ्खलासहित धनकुटा जिल्लाका विभिन्न स्थान स्पष्ट देख्न सकिन्छ । 

 

पटेक डाँडामा ‘भ्यूटावर’, ‘पिकनिक स्पट’ र बहुसांस्कृतिक मठमन्दिर निर्माण गर्ने तयारी भइरहेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।