close

पर्यटक लोभ्याउँदै थाङ्दी झरना

सामाजिक सञ्जाल टिकटक र फेसबुकका कारण झरनाको फेरो मार्नेहरू बढ्दै

पर्यटक लोभ्याउँदै थाङ्दी झरना

सामाजिक सञ्जाल टिकटक र फेसबुकका कारण झरनाको फेरो मार्नेहरू बढ्दै

Trulli
ADVERTISEMENT

तनहुँ– पहाडको टुप्पोबाट उन्मक्त पानीको फोहोरा सुसेल्दै वेग गतिमा झर्छ । हावाको झोँकाले पानीको फोहोरालाई उडाएर आकारमा घटबढ ल्याउँदाको दृश्य रोमाञ्चक लाग्छ । 

 

सुनसान खोचमा झरनाको सुन्दरता नियाल्न पुग्नेको भीड हुन्छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तछाँडमछाड देखिन्छ ।

 

निषेधाज्ञाको अवज्ञा गर्दै पुग्ने घुमन्तेको कमी छैन । कहिलेकाहीँ प्रहरीले नै भीडलाई तितरबितर पार्नुपर्ने स्थिति पनि सिर्जना हुन्छ । म्याग्दे गाउँपालिका वडा नम्बर ५ थाङ्दीस्थित थाङ्दी झरना पछिल्लो समय पर्यटकलाई लोभ्याउन सफल भएको हो ।

 

कान्छी वाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटनको गन्तव्य बनेको छ । झरनाको दृश्य नियाल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो लाग्छ ।

 

तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको स्थानीय अमृता भट्टराई बताउँछिन् । पर्यटक बढ्नुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छिन् ।

 

भट्टराई भन्छिन्, ‘टिकटकले त भाइरल नै बनायो । जो आउँछन्, टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जोकोहीलाई पनि लोभ्याउँछ । उनीहरू पनि घुम्न आउने क्रम बढ्दो छ ।’

 

शनिबार झरनामा आउने पर्यटकको भीडभाड बढी हुने उनले उल्लेख गरिन् । उनका अनुसार तनहुँका विभिन्न स्थानबाट पर्यटक झरनामा घुम्न आउँछन् ।

 

छिमेकी जिल्लाबाट आउनेको संख्या पनि कम छैन । युवायुवतीको बढी आउने भट्टराईले बताइन् ।  झरना क्षेत्रमा पिकनिक स्पट, भ्यु प्वाइन्ट, वाटरफल बनाए अझै पर्यटक बढ्ने उनको भनाइ छ ।

 

जनप्रतिनिधि आएपछि झरनाको विकासमा चासो दिएको वडाध्यक्ष शिवबहादुर आले बताउँछन् । ‘झरना पहिल्यैदेखि नै हो । कसैको चासो नहँुदा ओझेलमा
थियो । जनप्रतिनिधि आएपछि चर्चामा आएको छ’, उनले दाबी गरे । 

 

झरनामा आउने पर्यटकको सुविधाका लागि गाउँपालिकाको लगानीमा प्रतीक्षालय, माछापोखरी, पदमार्ग निर्माणसँगै खानेपानीको व्यवस्थापन गरेको उनले जनाए ।

 

पदमार्गमा भने यही असारमा आएको बाढीले क्षति पुर्याएको छ । कान्छीवराही मन्दिर र झरनाको बृहत्तर विकासका लागी गुरुयोजना बनाएको वडाध्यक्ष आलेले बताए ।

 

‘आकर्षक गन्तव्य बनाउने गरी डिपिआर बनेको छ । डिपिआरअनुसार पूर्वाधार थप्न प्रदेश सरकारसँग योजना माग्नेछौँ’, उनले भने । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट ४ किलोमिटरको यात्रामा थाङ्दी झरनामा पुगिन्छ ।

 

झरनाको खोचसम्म नै दुई पांग्रे सवारी साधानमा पुग्न सकिन्छ । चार पांग्रे सवारीमा जानेहरूले भने झरनासम्म पुग्न पाँच मिनेटको पैदलयात्रा गर्नुपर्छ ।