close

भाइरल रुखमा बनेको ट्री हाउसमा ओइरिँदै घुमन्तेहरू

भाइरल रुखमा बनेको ट्री हाउसमा ओइरिँदै घुमन्तेहरू

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । पृथ्वी राजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रुखमाथि काठको घर बनाइएको छ ।

 

रुखलाई भित्र पारेर काठले घर बनाइएको छ । दुई स्टेपमा बनाएको छानोसमेत काठैको भएको यो घरलाई ‘ट्रि हाउस’ नामकरण गरिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्रि हाउस’ भाइरल बनेको छ । हरित पार्कसहित बनेको ‘ट्रि हाउस’ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ ।

 

देशका विभिन्न जिल्लामा रुखमाथि बनाइएका घर चर्चित बनेका छन् । म्याग्देमा बनाइएको यो ट्रि हाउस तनहुँमा पहिलो हो । तसर्थ यहाँ घुम्न आउने पर्यटक बढ्दै गएका छन् । 

 

दैनिक २ सय बढी पर्यटक ट्रि हाउस घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुरले रानाभाटले बताए । ‘घरको फिनिसिङ भएको छैन । उद्घाटन पनि नहुँदै घुम्न आउने पर्यटक बढेका छन्’, अध्यक्ष रानाभाटले भने ।

 

रानाभाटका अनुसार हालै निर्माण गरिएको ट्रि हाउस घुम्न निःशुल्क पाइन्छ । चाँडै उद्घाटन गरेर प्रवेश शुल्क लिने उनको भनाइ छ । ट्रि हाउसमा रंगरोगन, बिजुली, पार्कमा रहेको पोखरीमा पानीको फोहोरा जडान भएपछि उद्घाटन गर्ने योजना बनाएको उनले जानकारी दिए ।

 

ट्रि हाउसमा रेस्टुरेन्टसमेत सञ्चालन हुने उनले बताए । ‘रेस्टुरेन्ट सञ्चालन भएपछि सुरक्षाको प्रबन्ध गरेर यहीँ बास बस्ने व्यवस्था पनि हुनेछ’, रानाभाटले भने ।

 

ट्रि हाउस निर्माण पूरा नहँुदै सामाजिक सञ्जालमा प्रख्यात भइसकेको छ । टिकटक र फेसबुकमा देखेपछि फुर्सद मिलाएर घुम्न आएको जामुनेकी इन्दु श्रेष्ठले बताइन् । ‘अरुको देख्दा आफूलाई पनि यहाँ फोटो खिच्ने धोको थियो । त्यही भएर साथी मिलेर आयौँ’, उनले भनिन् ।

 

प्राकृतिक सौन्दर्यले लोभलाग्दो ठाउँमा रुखमा बनाइएको घर नौलो किसिमको भएकाले धेरैको मन जितेको उनको भनाइ छ । साथीभाई र परिवारसँग रिफ्रेस हुनलाई यो गन्तव्य उपयुक्त हुने उनको ठम्याइ छ ।

 

भर्खर सुरुआतमा ट्रि हाउस र पार्क बनेको यहाँ अझै व्यवस्थित तरिकाले विकास गर्न आवश्यक रहेको श्रेष्ठले सुनाइन् । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरित पार्कसहित रुखमाथि घर बनाइको हो ।

 

गत वर्षको बजेटबाट १५ लाख रुपैयाँ लगानीमा पार्क र वातावरमैत्री रुखमाथि घर बनाइएको सब–डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए । 

 

रानाभाटका अनुसार वन कार्यालयले १२ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । सामुदायिक वनले २० प्रतिशत अर्थात् दुई लाख ५० हजार रुपैयाँ बेहोरेका
छन् । पर्या–पर्यटनसँग जोडेर सामुदायिक वनमा आबद्ध उपभोक्ताको आम्दानी बढाउने अवधारणाका साथ हरित पार्कसहित रुखमाथि घर बनाइको रानाभाटले बताए ।

 

यो ठाउँलाई पिकनिक स्पटको रूपमा विकास गरिने भएको छ । राजमार्गबाट नजिकैको यो ठाउँले चर्चा पाउनेमा दुई मत छैन । पृथ्वी राजमार्गबाट झन्डै २ सय मिटरको दुरीमा रहेको ट्रि हाउससम्म पुग्ने सडकको अवस्था सुर्धानुपर्नेछ ।

 

पार्कमा खानेपानी, शौचालय र प्रतीक्षालय आवश्यक रहेको घुमालुहरू बताउँछन् । पार्कलाई तारबार गरेर पर्यटकलाई सुरक्षित घुम्ने वातावरण मिलाउन सुरक्षागार्डसमेत खटाइने सामुदायिक वनले जनाएको छ ।