close

शिक्षक र कर्मचारीको व्यक्तिगत खातामा पारिश्रमिक भुक्तानी

शिक्षक र कर्मचारीको व्यक्तिगत खातामा पारिश्रमिक भुक्तानी

Trulli
ADVERTISEMENT

भोजपुर- रामप्रसादराई गाउँपालिकाले शिक्षक तथा कर्मचारीको पारिश्रमिक रकम व्यक्तिगत खातामा जम्मा गर्दै आएको छ । गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकको पारिश्रमिक रकम व्यक्तिगत खातामै जम्मा गराउँदै आएको हो । 

गाउँपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख इन्द्रकुमार घिमिरेका अनुसार  पालिकाले आर्थिक बर्ष २०७९/०८० को अन्तिमबाट मासिक रुपमा विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरुको व्यक्तिगत खातामा भुक्तानी गरेको हो । गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले सोयता मासिक रुपमा भुक्तानी गर्न निर्देशन दिएका छन् । साेही अनुरुप हाल मासिक रुपमा पारिश्रमिक भुक्तानी हुँदै आएकाे छ । 

निजामती सरह मासिक तलब भुक्तानी हुँदा शिक्षकहरुमा थप मनोबल र उत्प्रेरणामा वृद्धि भइ शैक्षिक क्षेत्रमा थप सुधार हुने अपेक्षा गाउँपालिकाको छ । विद्यालयको खातामा निकासा हुँदा प्रधानाध्यापकहरुले शिक्षकहरु र कर्मचारीहरुको खातामा भुक्तानी गर्न बैंकको दुरी टाढा हुँदा समस्या हुने गरेको उनले बताए ।

साथै, कोष कट्टि रकम दाखिला गर्न प्रत्येक विद्यालयका छुट्टाछुट्टै आइडी बनाउनुपर्ने बिषयको अन्त्य भइ एकद्वार प्रणालीबाट कोष कट्टि रकम जम्मा हुने गरेको उनको भनाइ छ। यसले शिक्षकको समय र आर्थिक बचत भएको उनले जानकारी दिए । 

शिक्षा शाखाले मासिक माग फारम, हाजिरी संकलन गरी आर्थिक प्रशासन शाखामा पेश गर्ने र त्यसपछि आर्थिक प्रशासन शाखा र शिक्षा शाखाले सबै कागजात रुजु गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गरी स्वीकृत गरिने गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव सुजिल राईले पालिकाखबरलाई बताए ।