close

रेडियाे पाएपछि नाच्न थालेका 'बा'

रेडियाे पाएपछि नाच्न थालेका 'बा'

Trulli
ADVERTISEMENT

इलाम - सेतै फुलेको जुंगा । शीरमा ढाका टोपी । धर्के इस्टकोटसँगै सुहाउँदो प्याजी कलरको गलबन्दी । पछाडी कालो व्याग र दुई हातले रेडियो समातेर खुसी हुँदै छमछम नाचेका बा । उमेरले करिब सात दशक टेकेका उनी पालिकाबाट रेडियो पाएसँगै फुरुङ भएर नाच्न थाले । 

यो दृश्य रोङ गाउँपालिकाको हो । गाउँपालिकाले केही समय अघि मात्रै ज्येष्ठ नागरिकलाई लक्षित गरी रेडियो वितरण गरेको थियो । रेडियो पाएसँगै स्थानीय खुसी मात्रै भएनन् । नाच्न पनि थाले । 
बाजे नाचेपछि केहीले भने, 'बाजे यो रेडियोबाट गीत बजाउँछु अझ नाच्नुस् ।' बाजे झन् खुसी भएर नाचे । 

सोही क्रममा अर्को व्यक्तिकोे रेडियो पहिलो पटक पाउनु भएको हो भन्ने प्रश्नको जवाफमा उनले 'हो' भन्ने संज्ञा दिएको देखिन्छ । उनी मात्रै होइन । रेडियो पाएपछि अन्य ज्येष्ठ नागरिक पनि खुसी भएको बताउँछन् गाउँपालिकाका अध्यक्ष मनिकुमार स्वाङबो । 

पालिकाखबरले सो ज्येष्ठ नागरिकको परिचयबारे जिज्ञासा राख्दा उनले जवाफमा भने, ‘नामै त मलाई थाहा भएन । तर रोङ गाउँपालिका वडा नम्बर ५ को ज्येष्ठ नागरिक हुनुहुन्छ।’ 

पछिल्लो समय वैदेशिक रोजगारीमा जानुका साथै स्वदेशमा भएका परिवारको सदस्य पनि मोबाइल तथा सामाजिक सञ्जालमा व्यस्त हुने भएकाले ज्येष्ठ नागरिक एक्लो हुने गरेको उनले सुनाए । सोही एक्लोपन कम गर्न तथा सूचना आदानप्रदान गर्नको लागि गाउँपालिकाले रेडियो वितरण गरेको उनको भनाइ छ । 

रेडियो वितरण गरेसँगै आफूले ज्येष्ठ नागरिकसँग सोही प्रतिक्रिया पाएको उनले सुनाए । रेडियो वितरणपछि के प्रतिक्रिया पाउनु भयो अध्यज्यू भन्ने पालिकाखबरको प्रश्नको जवाफमा उनले भने, ‘नातानातिनी छोरा/छोरी सबै जना फेसबुकमा व्यस्त हुन्छन् । हामी बुढाबुढीसँग कुराकानी गर्ने, गफ गर्ने मान्छे कोही हुदैनन् । रेडियो मन भुलाउने साहरा भयो ।’ 

सूचना प्रवाहको भरपर्दौ सजिलो साथी रेडियो भएको उनले बताए । उनले भने, ‘रेडियोको विकल्पमा सस्तो र भरपर्दो अरु साधन हुन सक्दैन ।’ 

ग्रामीण भेगमा आर्थिक रुपमा विपन्न तथा सम्पन्न सबै व्यक्तिमा रेडियो हुने सम्भावना  रहेको उनले बताए ।  व्याट्री र चार्जबाट बजाउने भएपछि इन्टरनेटमा जस्तै शुल्क तिर्नु नपर्ने भएकोले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी रेडियो वितरण गरेको उनको भनाइ छ । तर सहर तथा बजार प्रविधिमैत्री हुने भएकोले रेडियो  वितरण कार्यक्रम नौलो हुने उनको भनाइ छ । 

उनले भने, ‘प्रविधिभन्दा बाहिर भएका स्थानीयलाई मोबाइल भन्दा रेडियो नै बेष्ट हो ।’

गाउँपालिकाले चालु आवको स्वीकृत कार्यक्रम अनुरुप पालिकाभित्रका ६८ वर्षभन्दा माथिका व्यक्तिलाई रेडियो वितरण गरेको उनले सुनाए । चालु आवमा गाउँपालिकाले एक हजार १०० जनालाई रेडियो वितरण गरेको उनले सुनाए । 

सोका लागि गाउँपालिकाले चालु आवमा ९ लाख रुपैयाँ बजेट  विनियोजन गरेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले स्वास्थ्य शिविर तथा अन्य सामग्री पनि वितरण गर्दै आएको उनले सुनाए ।