close

पहेँली पातली... म यस्तो खुशी छु...

पहेँली पातली... म यस्तो खुशी छु...

Trulli
ADVERTISEMENT

दोलखा- वृद्ध जीवन, अन्धकार सन्सार, त्यो गरिबीको चपेटा अनि शौचालय पुग्नसमेत अरूको सहारा । भगवान् छ भन्दा सबैले त विश्वास गर्दैनन् । तर एक ८८ वर्षीय वृद्धको लागि भगवान् बनेर आएको छ  मेलुङ सरकार । 

मेलुङ गाउँपालिकाले नि:शुल्क शिविर आयोजना गरेसँगै वडा नम्बर-७ का मायानाथ योगीले गुमिसकेको आँदाको ज्योति फेरि पाएका हुन् । तिलगंगा आँखा अस्पतालका नेत्र विशेषज्ञ रिना बज्राचार्यको टोलीले उनको आँखा अपरेसन गरेका हुन् । सोमबार र मंगलबार मेलुङ गाउँपालिकामा सम्पन्न सो शिविरमा मायानाथको आँखाको अपरेसन गरिएसँगै उनले नयाँ जीवन पाएका हुन् । अपरेसनका लागि अस्पताल पुग्न नसकेका मायानाथजस्ताका लागि गाउँमै शिविर सञ्चालन गरेपछि दर्जनौँको गुमेको ज्योति फेरि फर्किएको हो । 

‘पहेँली पातली 
सुनै सरीको कपाल
बाबाले के भन्छ
म यस्तो खुशी छु
मैले रोजेको नेपाल...’

आफ्नै शब्द र लयको गीत गाउँदै दुई वटा लट्ठीको सहारामा कुम हल्लाउँछन् । भएभरको शक्ति निकालेर नाच्न कोसिस गर्छन् ।  छेउछाउ बस्नेले ताली बजाउँछन् । गलामा हर्षाश्रु प्रस्ट देखिने गरी मुस्कुराएका छन् । उनलाई लागेको आज मैले विश्वयुद्ध जिते ।

एकातिर वृद्धावस्था, अर्कोतिर गरिबीको चपेटाले रन्थनिएको योगीको लागि सहारा बनिदिने छोरा छैनन् । भएका दुई छोरीमध्ये एकले रामेछाप बिहे गरिन् । अर्कोले मेलुङकै वडा नम्बर-६ मा बिहे परेपछि मायानाथ दम्पती सहाराविहीन जस्तै छन् । 

विगत ३ वर्षदेखि शौचालय जानसमेत अरूको सहारा चाहिने मायानाथका लागि भतिज राम बहादुर योगी सहारा बनेका थिए । भतिजले नभ्याउँदा छामछाम छुमछुम गर्दै शौचालय जाने गरेका मायानाथले ३ वर्षपछि फेरि आँखा देख्न पाएका हुन् । 

अब उनी आफैँ शौचालय जान सक्ने भएका छन् । उनलाई हिँड्नको लागि दुईवटा लट्ठीको सहारा भने चाहिन्छ । किनभने उनको ८ वर्ष खुट्टा भाँचिएको हुँदा अझै दुखाइ र पीडा रहेको उनले बताए । मंगलबार अपराह्न चिकित्सकले उनको आँखा खोलिदिएपछि उनी नाचेको नाचै थिए । अरूले बस्नुस् भन्ने आग्रह गर्दासमेत बस्न मानेनन् । मासु भात खान पाएको भन्दा बढी खुशी भएको भन्दै नाचिरहे । 

तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा त्रिभुवन माविमा नि:शुल्क आँखाको अप्रेसन गरिएको हो । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ रिना बज्राचार्यको टोलीले आँखा अप्रेसन गरेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईँले बताए । 

मेलुङ गाउँपालिकाका अनुसार मायानाथजस्तै ४७ जनाको मोतिया विन्दुको अपरेसन गरिएको छ । त्यस्तै ३ जनाको आँखामा पलाएको मासु काटिएको छ ।  मेलुङ गाउँपालिकाका कम्प्युटर अपरेटर किरण केसीका अनुसार गाउँमै अपनरेशसहितको शिविर सम्पन्न भएसँगै ४७ जनाले संसार देख्न पाएका हुन् । गत फागुन २० गतेदेखि पालिकाको सबै वडामा स्क्रिनिङ शिविर गरी शल्यक्रियाका लागि छनौट गरिएको थियो ।  ७ वटै वडाहरूमा भएको आँखा शिविरबाट मोतिया विन्दुको समस्या भएका व्यक्तिलाई अपरेसनका लागि त्रिभुवन मावि ल्याइएको हो । 

गाउँपालिकाको प्रत्येक वडामा यसअघि सम्पन्न शिविरमा करिब एक हजार जना लाभान्वित भएका थिए । तीमध्येबाट शल्यक्रियाका लागि छनौट गरिएका बिरामीहरूको अपरेसन पनि मंगलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।