close

आठबिसकोटलाई ‘कृषि हब’ बनाउने अभियानमा छु : नगरप्रमुख केसी

आठबिसकोटलाई ‘कृषि हब’ बनाउने अभियानमा छु : नगरप्रमुख केसी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम -  जिल्लाकै आधा भूगोल ओगटेको र विकट स्थानीय तह हो, आठबिसकोट नगरपालिका ।  पालिकाको कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर 'समृद्ध नगरपालिका'  निर्माण गर्ने अठोटसहित निर्वाचनमा होमिएका थिए, रवि केसी । उनको  सोच र नयाँ विचारमा स्थानीय बासिन्दाले साथ र समर्थन दिए । अन्ततः उनी भारी मतसहित पालिका प्रमुखकाे रूपमा  चुनिए ।

कर्णाली प्रदेशकै कान्छा नगरप्रमुख केसीले कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर समृद्ध नगरको सपनालाई बोकेर स्थानीय तहको मैदानमा उत्रिएका थिए । कर्णाली प्रदेशकै कान्छा नगरप्रमुख पालिकालाई नमुना पालिका बनाउन अहोरात्र खटिँदै आएका छन् । जनताका स-साना समस्यालाई नजिकबाट नियाल्दै आएका छन् । उनै नगरप्रमुख केसीसँग पालिकाखबरकर्मी अर्जुन विष्टले गरेको कुराकानीको सम्पादित अ‌ंश:

निर्वाचित भएको डेढ वर्षकाे कार्य अवधिमा के-कस्ता काम गर्नुभयो ?  कसरी काम गर्ने योजना छ ?

स्थानीयले ममाथि ठूलो भरोसा र आशा राख्नु भएको छ ।  म जनताको बीचमा जाँदा मलाई गुनासो सुनाउनुहुन्छ । स्थानीयकाे वास्तविक समस्यासँग म जानकार छु ।  २०६२ सालमा विद्यार्थी राजनीतिबाट नेतृत्व सम्हालेसँगै पालिकामा धेरै काम गरेको छु ।  सोही कामकाे मूल्याङ्कन गरी जनताले मलाई जिताउनु भयाे । निर्वाचनको  मैले ती बाचा गरे अनुसार काम गर्नेछु । स्थानीयकाे समस्या समाधान गर्ने प्रतिबद्धताअनुरूप काम गर्दै आएको छु र गर्नेछु । डेढ वर्षकाे कार्य अवधिमा स्थानीयसँग सिक्दै र अनुभव लिँदै आएको छु । हालसम्म तीन जनालाई छात्रवृत्तिमा डाक्टर पढाउन, विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा र कृषिमा आत्मनिर्भर बनाउने योजनाहरू निर्माण भएका छन् । ठूला योजनाहरू लिएर अलपत्र पार्नुभन्दा जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका स-साना कुराहरूलाई समेटेर अगाडि बढ्ने योजना बनाएको छु ।

कर्णाली प्रदेशकै कान्छो मेयरमा विजय हुनुभएको छ । तपाईसँग नागरिकको अपेक्षा केके छन् ?

सानैदेखि विद्यार्थी राजनीति र पार्टीको अध्यक्ष हुँदा गरेकाे कामबाट जनताको विश्वास जितेको छु जस्तो लाग्छ । उमेरले प्रदेशकै सबैभन्दा कान्छो मेयर भए पनि मसँग भिजन र जिम्मेवारी छ । काम गर्न उमेर होइन ।  युवा भएकाले आम नगरवासीले मबाट केही नयाँ परिवर्तन खोज्नु भएको छ । उहाँहरूको भराेसा म मर्न दिन्नँ ।

जनताको  आसा र भरोसाअनुसार तपाई के-कस्ता काम गर्नुहुन्छ त ? 

कृषि क्षेत्रको पहिचान गरी कृषि पकेट  बनाउने योजना हो । कृषिमा पालिकालाई आत्मनिर्भर बनाउने छु ।  हामीले वडा तहबाट नै सो कार्य सुरु गरेका छौँ ।  आठबिसकोट नगरपालिकामा किसानद्वारा उत्पादित कृषि उपजको बजारीकरण, स्वच्छ सफा खानेपानी, सबै वडामा विद्युतको  केन्द्रीय लाइन विस्तारको व्यवस्था गर्न आवश्यक छ । प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पुर्‍याउने योजनाअन्तर्गत  केही वडाहरूमा 'एक घर एक धारा' कार्यक्रम सञ्चालनमा छन् । 

किसानलाई अनुदानमा बिरुवा, बीउ र कृषि उपजको व्यवस्थापन र बजारीकरणका लागि निःशुल्क  ढुवानी गरिरहेका छौं ।पालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ९, १० ११ र १३, १४ का अधिकांश स्थानमा बिजुली बत्तीको केन्द्रीय प्रसारण पुगिसकेको छ । त्यस्तै १ र १२ नम्बरमा तार कस्ने काम भइरहेको छ । मेराे कार्यकालमा सकेसम्म पालिकाका सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पुर्‍याउने याेजना छ ।

तपाईंले योजनाहरू सञ्चालन गर्दा के–कस्ता चुनौतीको सामना गर्नुपर्‍यो ?

चुनौती समस्या मात्रै होइन अवसर पनि हो । संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने कुरामा कयौँ कानुनी समस्याहरू छन् । नगरपालिका र वडाकाे नयाँ संरचना बन्दै छन् । भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, कानुनी अस्पष्टतालगायतका थुप्रै समस्याहरू छन् । केही कानुनी अस्पष्टता रहे पनि काम गर्दै समस्याहरूको समाधान हुँदै आएको छ ।जनअपेक्षा अनुसार हाम्रो प्रतिबद्धता पनि फलदायी नै रह्यो । 

तपाईँको नगरपालिकामा विद्युत्, सञ्चार र सडकको अवस्था कस्तो छ ?

मान्छेका आधारभूत आवश्यकता तथा विकासका पूर्वाधारको उचित व्यवस्था हुनुपर्छ । हरेक वर्षझैँ विकासका निर्माणका कार्यहरूलाई निरन्तरता दिँदै विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौँ ।  नगरपालिकालाई उज्यालो र समृद्ध नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाको केन्द्रदेखि दुर्गम वडाहरू केन्द्रीय लाइनमा जोडिएका छन् । जसले दुर्गमका वडाहरूमा अहिले कार्यसम्पादन गर्न निकै सहज भएको छ ।

दियालो र टुक्की बाल्नुपर्ने बाध्यता हटेको छ । स्थानीय उत्पादनका विद्युत् भरपर्दो नहुँदा निकै समस्या झेल्नुपर्‍यो । विद्युत् प्राधिकरणसँगको सहकार्यमा अहिले बजारमा केन्द्रीय लाइनमार्फत बत्ती बलिरहेको छ । यही कार्यकालभित्रमा सबै वडाहरूमा बत्ती बाल्ने लक्ष्य लिएका छौँ । केन्द्रीय प्रसारण लाइन पुगेपछि अब सञ्चार क्षेत्रलाई पनि थप मर्मत गर्दैछौं । नेपाल टेलिकमको नेटवर्क फोर जि र फाइबर नेट सञ्चालनमा आएको छ ।