close

बाँसगढी नगरपालिकाको भूमि करमा ५० प्रतिशत छुट

बाँसगढी नगरपालिकाको भूमि करमा ५० प्रतिशत छुट

Trulli
ADVERTISEMENT

बर्दिया - बर्दियाको बाँसगढी नगरपालिकाले नगरबासीबाट लिँदै आएको भूमि करमा ५० प्रतिशत रकम छुट दिने निर्णय गरेको छ । नगरपालिकाले नगरको सातौं नगरसभाबाट भूमिमा लिँदै आएको करमा ५० प्रतिशत रकम छुट दिने निर्णय गरेको हो ।


कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थतिलाई दृष्टिगत गरी करमा छुटको योजना ल्याएको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताए । भूमि कारका साथै नगरपालिकाले विगतमा उठाउँदै आएको व्यवसाय कर, उद्योग कर, सटर भाडा कर, घर बहाल करलगायत अन्य सबै प्रकारका करमा पनि ३० प्रतिशत छुट गर्ने निर्णय गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए । कर छुट योजनाले नगरबासीलाई केही हदसम्म राहत मिल्ने उनको भनाइ छ ।  


नगरपालिकाले नगरबासीबाट नागरिकता सिफारिसबापत कुनै पनि शुल्न नलिने निर्णय गरेको छ । कोरोना महामारीका बेला नगरबासीलाई आर्थिक भार केही हदसम्म भए पनि कम होस् भन्ने मनसायले कर तथा शुल्क छुटको योजना ल्याएको नगरपालिकाले जनाएको छ । 


महामारीका बेला नगरपालिकाले कर तथा विभिन्न शुल्कमा दिएको छुटले राहत मिलेको स्थानीय रामकेशर चौधरी बताउँछन् । यसैगरी नगरका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना भाइरसको प्रभाव अवधिभर कुनै पनि बैठक भत्ता नलिने निर्णय गरेका छन् । महामारीमा बैठकका नाममा भत्ता लिनु उचित नभएको हुँदा यसको प्रभाव नसकुन्जेल जनप्रतिनिधि र कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरिएको नगरप्रमुख अधिकारीको तर्क छ । 


कोरोनाका कारण देश–विदेशबाट रोजगार गुमाएर आएका युवाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याइएको नगरप्रमुख अधिकारीले बताए ।


‘नगरपालिकाले बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गरी स्वरोजगारको अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याएको छ’, अधिकारीले भने, ‘यसबाट बेरोजगारलाई केही सहज हुनेछ ।’