close

लिसंखुपाखरले साना उद्यमी लक्षित उद्यमशीलता चलाउने

लिसंखुपाखरले साना उद्यमी लक्षित उद्यमशीलता चलाउने

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सातौं गाउँसभामार्फत वार्षिक समीक्षा सम्पन्न गरेको छ । कोरोना कहरका बीच पनि गाउँपालिका ८४ आर्थिक प्रगति गर्न सक्षम भएको वार्षिक समीक्षामा जानकारी दिइयो । 


अघिल्लो वर्षको गाउँसभाबाट स्वीकृत र संघ तथा प्रदेशबाट प्राप्त गरी ४९ करोड ८२ लाख २१ हजार ३ सय २६ रुपैयाँ बजेट बाँडफाँट भएकामा  गत वर्ष ८४ प्रतिशत प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।  गाउँपालिकाले यो वर्षदेखि  किसान  र साना उद्यमीलाई लक्षित गरेर अध्यक्ष उद्यमशीलता कार्यक्रम सुरु गर्न लागेको उनले बताए ।


यो कार्यक्रमलाई गौरवको योजनाका रुपमा लिइएको गाउँपालिका अध्यक्ष कमल नेपाल बताउँछन् । ‘हामीले यो वर्षदेखि उद्यम गर्न चाहनेहरूलाई १ प्रतिशत सहुलियत ब्याजदरमा १ लाखदेखि १० लाख सम्म ऋण उपलब्ध गराउने योजामा छौं’, अध्यक्ष नेपालले भने, ‘यो वर्ष कम्तीमा पनि ५ करोड लगानी गर्ने योजना छ ।’


यो कार्यक्रममार्फत २ वर्षमा करिब १० करोडसम्म लगानी गर्न सक्ने गरी गाउँपालिका र नेपाल बैंकबीच सम्झौता भइसकेको अध्यक्ष नेपालले बताए । पहिलो वर्ष गाउँपालिकाले मुद्दती खातामा निक्षेप गरेको रकमको दोब्बर नेपाल बैंकले ऋण परिचालन गर्ने र त्यसपछि कारोबारका आधारमा बढाउँदै जान सकिने गरी सहमति भएको उनले जानकारी दिए ।  


अध्यक्ष उद्यमशीलता विकास कार्यक्रमले खासगरी साना किसान तथा उद्यमी महिलालाई प्राथमिकता दिन चाहेको गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तानको भनाइ छ । ‘बिनाधितोमा ५ र धितोसहित १० लाखसम्म ऋण पुँजी पाउँदा लिसंखुका अधिकांश महिलाको आर्थिक अवस्था सुदृढ हुने अपेक्षा छ’, उनले भनिन् । 


साताैं गाउँसभाले गाउँपालिकामा प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउन आवश्यक प्रक्रियासमेत सुरु गरिसकेको जानकारी दिएको छ । चाडवाडलाई लक्षित गरी बर्खामा बिग्रिएको सडक मर्मत सुरु गरेर सहज  यातायात साधन सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।