close

गाउँपालिकाको पहलमा ३ वर्षमै त्रिवेणी बालश्रममुक्त

गाउँपालिकाको पहलमा ३ वर्षमै त्रिवेणी बालश्रममुक्त

ADVERTISEMENT

रोल्पा- त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई काठमाडााैं इँटाभट्टामा श्रम गरिरहेका बालबालिकालाई जिल्ला ल्याउन ‘फलामको चिउरा’ चपाउनुजस्तै भएको थियो ।

विद्यालय उमेरका ती  बालबालिका फिर्ता  गरेर  विद्यालय भर्ना गर्ने उनको चुनावी प्रतिबद्धता थियो । गाउँपालिका एक्लैले उक्त कार्य गर्न सम्भव थिएन । उनले ती बालबालिकालाई फिर्ता गरेर विद्यालय भर्ना गर्न बालबालिकाको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सेभ द चिल्ड्रेनलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्षको आग्रहबमोजिम सेभ द चिल्ड्रेनले स्थानीय गैरसरकारी संस्था मानव अधिकार सचेतन केन्द्रमार्फत सो गाउँपालिकामा ३ वर्षभित्र गाउँपालिकालाई बालश्रममुक्त बनाउने कार्यक्रममा सघाउन तयार भयो ।

गाउँपालिकाको  अगुवाइमा मानव अधिकार सचेतन केन्द्र रोल्पाको सामाजिक परिचालन एवं प्राविधिक सहयोग र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा गाउँपालिकामा बालश्रम, शिक्षा र जीविकोपार्जनसम्बन्धी एकीकृत कार्यक्रम  सञ्चालन गरियो  ।

समुदायमा अभिभावक  शिक्षा  कार्यक्रम र  विद्यालयमा बालक्लबहरू गठन गरेर उनीहरूकै अगुवाइमा बालश्रममा जान नदिन विभिन्न अभियान सञ्चालन गरिए । समुदायमा बालबालिका बालश्रममा जान लागेको थाहा पाउनेबित्तिकै नजिकको प्रहरीलाई खबर गर्ने संयन्त्र बन्यो । यसका लागि बालक्लबहरूको सक्रिय भूमिका रह्यो ।

वडा  र गाउँपालिका स्तरमा बाल संरक्षण समिति निर्माण गरियो । बालबालिका बालश्रममा जान किन बाध्य छन् भन्ने पत्ता लगाउन घरधुरी सर्वेक्षण गरियो ।

सर्वेक्षणले अभिभावकको गरिबी  र साथीभाइको देखासिखीका  कारण बालश्रममा जाने गरेको परिणाम देखायो ।  सर्वेक्षणमा विद्यालय उमेरका २ सय २७ बालबालिका काठमाडांैका विभिन्न इँटाभट्टा र होटलहरूमा बालश्रमिकको रुपमा रहेको तथ्यांक देखियो ।

३ वर्षभित्र कम्तीमा ९० प्रतिशत बालश्रम अन्त्य गर्ने  र ५ वर्षभित्र शतप्रतिशत बालश्रम अन्त्य गर्ने गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने गाउँपालिकाले रणनीतिक योजना तय ग¥यो । योजनाका साथै यस अवधिमा गाउँपालिकाले बालबालिकासम्बन्धी विभिन्न ५ वटा  कानुनसमेत तर्जुमा ग¥यो ।

‘बालश्रममा गएकामध्ये २ सय ५ बालबालिका गाउँ फर्किसकेका छन् । फर्किएकामध्ये १ सय ७३ जना विद्यालय भर्ना भइसकेका छन्,’ त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने ।

अध्यक्ष वलीका अनुसार फर्किएका बालबालिकाहरूलाई विद्यालयमा टिकाइराख्न सेभ द चिल्ड्रेनको  सहयोगमा शैक्षिक सामग्री, विद्यालय पोसाक तथा उनीहरूका अभिभावकलाई बाख्रापालन कुखुरापालन, तरकारी खेतीजस्ता आय आर्जनका क्रियाकलापन सञ्चालन गरिएको छ ।

परियोजना अवधिभर सेभ द चिल्ड्रेनको सहयोगमा २९ घरधुरीलाई बंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १ सय २६ घरधुरीलाई बाख्रापालनमा सहयोग भएको थियो ।

यसैगरी १० जनालाई कपाल काट्ने तालिम, २३ जनालाई हाउस वायरिङ, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, ९  जनालाई खाजानास्ता बनाउने, ९ जनालाई ब्युटिपार्लर, १६ जनालाई सिलाइकटाइ र ४ जनालाई मोटरसाइकल मर्मत तालिम दिइएको छ ।

गाउँपालिकाकी शिक्षा अधिकृत अमृता बुढाथोकी त्रिवेणी गाउँपालिकाबाट बालश्रममा सहर पसेकामध्ये ८५ प्रतिशत बालबालिका फर्किसकेको बताउँछिन् । फर्किएकामध्ये अधिकांश विद्यालय भर्ना भएको उनको दाबी छ ।

विद्यालय छाडेर बालश्रममा गएका बालबालिकाहरूलाई  फर्काउने अभियानमा गाउँपालिकाभित्रका विद्यालयहरूले  समेत  योगदान गरेका छन् ।

जनजागृति मावि जुगारका प्रधानाध्यापक जीवराज भण्डारीका अनुसार स्थानीय विद्यालयले समेत गाउँपालिकाको यो अभियानमा सहयोग गरेको छ । बालश्रमबाट फर्किएर विद्यालय भर्ना भएका बालबालिकाका लागि गरिएको शैक्षिक सहयोग र उनीहरूका अभिभावकलाई दिएको आयआर्जन सहयोगले बालबालिकाको पठनपाठनमा सहयोग गरेको भण्डारी बताउँछन् ।

बालश्रम न्यूनीकरणमा विद्यालयका बालक्लबहरूले  पनि महत्वपूर्ण भूमिका  खेले । ‘बालश्रममा जान थालेको थाहा पाउनेबित्तिकै नजिक रहेका स्थानीय सरकार र प्रहरी युनिटहरूलाई  खबर गरेर बाटोबाटै फिर्ता गरेका थियौं,’ गाउँपालिका स्तरीय बालक्लब सन्जालका अध्यक्ष  भरत वुढाथोकीले भने, ‘अहिले बालबालिका घर छाडेर काठमाडौं जाने क्रम सकिइसकेको छ ।’