close

ठाकुरबाबाको बेरोजगार युवा लक्षित कार्यक्रम

ठाकुरबाबाको बेरोजगार युवा लक्षित कार्यक्रम

Trulli
ADVERTISEMENT

बर्दिया - जिल्लाको ठाकुरबाबा नगरपालिकाले  नगरभित्रका बेरोजगार युवालाई लक्षित स्वरोजगार कार्यक्रम अघि बढाएको छ । 


पछिल्लो समय कोरोना महामारीका कारण रोजगार गुमाएर देश–विदेशबाट फर्केका युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रम अघि बढाइएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । 


नगरले यस वर्ष झन्डै १ हजार युवालाई स्वरोजगार बनाउने कार्यक्रम अघि सारेको छ ।  बेरोजगार युवाहरूलाई कृषि तथा पशुपक्षीपालनमा आकर्षित गर्दै स्वदेशमै रोजगारी  अवसर सिर्जना गरिनेछ । नगरपालिकाले यो कार्यक्रमका लागि साढे ५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।


युुवाहरूलाई गाउँघरमै स्वरोजगार बनाएर व्यक्ति, परिवार र समुदायको आर्थिक विकास गर्ने अभियानसहित  युवा लक्षित कार्यक्रम ल्याइएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । 


‘युवाहरूका लागि कृषि पर्यटनमा आधारित अर्गानिक कृषि उत्पादन क्षेत्र, तरकारी, धान, दलहन, मौरीपालन, बेमौसमी तरकारी खेती तथा कृषि बजारमुखी व्यापारिक क्षेत्र र कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ’, श्रेष्ठले भने ।


किसानबाट उत्पादित कृषि उपजको बजारसम्म सहज पहुँचका निम्ति कृषि हाटबजार, संकलन केन्द्रको विस्तार एवं नगरमा शीतभण्डार स्थापनाका लागि पहल भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । 

 

युवा लक्षित कृषि रोजगार कार्यक्रमले समुदायको आर्थिक सुधारमा टेवा पुर्याउने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । यो कार्यक्रमबाट युवाहरू रोजगारका लागि विदेश पयालन हुने क्रम पनि घट्ने छ ।