close

बलेफी गाउँपालिका भवन बनाउन ४ रोपनी जग्गा दान

बलेफी गाउँपालिका भवन बनाउन ४ रोपनी जग्गा दान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– जग्गा अभावमा भाडमा सञ्चालन भइरहेको बलेफी गाउँपालिकाको कार्यालय अब भने निर्माण हुने भएको छ ।  गाउँपालिका स्थापना भएदेखि नै भाडामा सञ्चालन हुदै आएको गाउँपालिकाले जग्गा प्राप्त गरेसँगै अब भवन बन्ने भएको छ ।

 

बलेफी गाउँपालिका–५ स्थानीय खडका टोलमा त्यहाँका ६ जना स्थानीयले गाउँपलिकालाई निःशुल्क जग्गा दिएपछि कार्यालय भवनको बाटो समेत खुला भएको छ ।


बलेफी–५ का स्थानीय उदीनारयण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, कान्छीमाया श्रेष्ठ, चित्रबहादुर श्रेष्ठ, राम्जी श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले गाउँपलिकालाई साढे चार रोपनी जग्गा निःशुल्क प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

‘हामीले स्थानीयलाई जग्गादानका लागि अनुरोध गरेका थियौ, धेरै स्थानबाट जग्गादान गर्न इच्छुक थिए, तर उपयुत्त ठाउँ यही भएकाले यही जग्गा स्वीकारेका छौं’, अधिकृत भण्डारीले भने ।


जग्गाको मञ्जुरीनामा आइसकेको र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जग्गा प्राप्ति समितिले केही दिन भित्रै गाउँपालिकाको नाममा जग्गा प्राप्ति ऐन अनुसार जग्गा प्राप्त हुने भण्डारीले जानकारी दिए ।


गाउँपालिकाले भवन निर्माणका लागि चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘हाम्रो कार्यकालमा हामी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सक्षम हुनेछौं’, गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले भने ।

 

गाउँपालिकालाई निःशुल्क जग्गादान गर्नेहरुलाई गाउँपालिकाको तर्फबाट उच्च सम्मान रहेको अध्यक्ष क्षेत्रीले बताए । भाडामा गाउँपालिका सञ्चालन हुदा आर्थिक व्ययभार समेत बढेको र काम गर्न समेत समस्या हुदै आएकोमा भवन निर्माण भएपछि सहज हुने गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ कायस्थले बताइन् ।


अरनिको राजमार्गको बलेफी बाट करिब ५ सय मिटरको दुरीमा भवन निर्माण हुनेछ । भवन निर्माणस्थलसम्म सडक समेत पुगेको गाउँपालिकाले जानकारी दिएको छ ।