close

फतुवा विजयपुरले नगरबासीको विद्युत् महसुल तिरिदिने

फतुवा विजयपुरले नगरबासीको विद्युत् महसुल तिरिदिने

Trulli
ADVERTISEMENT

रौतहट - रौतहटको फतुवा विजयपुर नगरपालिकाले जिल्लामै पहिलो पटक नगरबासीको विद्युत् महसुल तिर्ने व्यवस्था गरेको छ । नगरपालिकाको चौथो नगरसभाले नगरभित्रका सम्पूर्ण उपभोक्ताको विद्युुत् महसुल तिर्ने निर्णय पारित गरेको हो । 


जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म कसैले पनि सर्वसाधारणको विद्युत् महसुल तिर्ने निर्णय गर्न नसकेको अवस्थामा फतुवा विजयपुरले पहिलो पटक सर्वसाधारणको महसुल तिरिदिने भएको हो ।  चौथो नगरसभाले नगरको समग्र विकासका लागि ५४ करोड बढी बजेट  पारित गरेको छ । 


नगरसभाले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको आप्mना नीति तथा कार्यक्रममा यस वर्षदेखि नगरका सम्पूर्ण नागरिकको विद्युत् महसुल नगरपालिकाले नै बेहोर्ने व्यवस्था गरेको नगरप्रमुख गोपाल यादवले बताए ।


‘नागरिकको विद्युत् महसुल तिर्न नगरपालिकाले ७० लाख बढी बजेट विनियोजन गरेको छ’, यादवले भने, ‘यस वर्षदेखि अब कसैले पनि विद्युत् महसुल तिर्नुपर्ने छैन ।’


यो वर्षको नीति तथा कार्यक्रममा नगरका विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतलाई विशेष प्राथमिकता दिइएको निमित्त प्रशासकीय अधिकृत प्रमोद गुप्ताले बताए । ‘नगरको समग्र विकासका लागि  ५४ करोड  २० लाख  १३ हजार १३  सय १९ रुपैयाँ बजेट प्रस्तुत गरिएको छ’, गुप्ताले भने ।

 

दुई पालिकामा विवाद 


स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० भित्र सबै स्थानीय तहले परिषद् गरी १५ देखि बजेट पारित गर्नुपर्ने प्रावधान छ । तर, रौतहटका १८ स्थानीय तहमध्ये ४ नगरपालिकाको नगर परिषद् गर्न सकेका छैनन् ।


नगरप्रमुख र उपप्रमुखबीचको विवादका कारण देवाही गोनाही, राजदेवी, कटहरिया र फतुवा विजयपुर नगरपालिकाको परिषद् हुन सकेको थिएन । शुक्रबार फतुवा विजयपुर नगरपालिकाको नगरसभा सम्पन्न भएको छ भने कटहरिया नगरपालिकाको नगरसभा भने आउँदो कात्तिक ४ मा बोलाइएको छ ।


अझै देवाही गोनाही र राजदेवी नगरपालिकाको नगरसभा अन्योलमै छ । समयमै नगरपरिषद् गर्न नसक्दा विकास निर्माणका योजना प्रभावित भएका छन् ।