close

खाँदबारीले गर्‍यो सहुलियतपूर्ण कर्जा सम्झौता

खाँदबारीले गर्‍यो सहुलियतपूर्ण कर्जा सम्झौता

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी गरेका छन् । नगरपालिका कार्यालयमा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ र खाँदबारी नगरप्रमुख मुरारीप्रसाद खतिवडाले सम्झौतामा हस्ताक्षर गरे । 

 

संघीय अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार वाणिज्य बैंकले खाँदबारीसँग समझदारी गरेको हो । उद्यमशीलता र स्वरोजगारका लागि नेपालमै सम्भावना रहेकाले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्‍याउने लक्ष्यका साथ सहुलियतपूर्ण कर्जामार्फत ब्याज अनुदान कार्यक्रम सुरु गरिएको निर्देशक श्रेष्ठले बताए ।

 

बैंकसँग ऋण सम्झौता गर्नेमा प्रदेश १ मोरङको बेलबारी नगरपालिकापछि संखुवासभाको खाँदबारी दोस्रो नगरपालिका हो । कार्यविधिमा कृषि तथा व्यवसायी कर्जा ५ करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म र विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म दिइने व्यवस्था छ ।

 

यस्तै, महिला उद्यमशीलता कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच करोडसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म दिने व्यवस्था छ ।

 

राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थालाई ब्याज अनुदान भुक्तानी गर्ने व्यवस्था सरकारले मिलाएको हो । बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजमा ५ प्रतिशत सरकारले तिरिदिनेछ भने त्यसभन्दा माथिको कर्जाको ब्याज ऋणी आफैँले तिर्नुपर्नेछ । 

 

यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ । सहुलियतपूर्ण कर्जामा महिलालाई १.७४ प्रतिशत र पुरुषलाई २.७४ प्रतिशत ब्याज दरमा ऋण दिनुपर्ने राष्ट्रिय वाणिज्य बैंकको कार्यविधिमा उल्लेख छ । हालसम्म नेपालमा २ हजार २ सयले सहुलियतपूर्ण लिएको कार्यक्रममा निर्देशक श्रेष्ठले जानकारी दिए ।

 

कार्यक्रममा खाँदबारी नगरप्रमुख खतिवडाले भने, ‘वैदेशिक रोजगारीबाट सीप लिएर स्वदेश फर्किएका युवालाई बिदेसिनुपर्ने बाध्यता हटाई उद्यमशीलतासँग जोडेर स्वरोजगार बनाउने सहुलियतपूर्ण कर्जा ब्याज अनुदान कार्यक्रम महत्त्वपूर्ण छ । यसबाट लाभ लिन सके आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।’