close

सरकारी कागजले दिलाएको खुसी (भिडियो खबर)

सरकारी कागजले दिलाएको खुसी (भिडियो खबर)

ADVERTISEMENT

काभ्रेपलाञ्चोक- देशमा संघीयता लागू भएको साढे ३ वर्ष नाघिसकेको छ । स्थानीय सरकार आएसँगै जनताका अधिकांश कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्दैन भन्ने मान्यता थियो । 

 

जनताले अधिकांश सेवा-सुविधा आफ्नो पालिकाबाटै प्राप्त गर्ने व्यवस्था नेपालको संविधानमा छ । केही पालिकाले जनशक्ति र पूर्वाधार अभावको बहाना देखाउँदै संविधानले सुनिश्चित गरेको जनताका अधिकार तिनलाई दिलाउन सकिरहेका छैनन् भने केहीले प्रयास गरिरहेका छन् ।


काभ्रेको खानीखोला गाउँपालिकाले लामो समयदेखि अपांगगता भएका व्यक्तिले पाउने परिचयपत्र वितरण सुरु गरेसँगै धेरै परिवारमा खुसी छाएको छ ।


शारीरिक रूपमा अशक्त १९ वर्षीय झलकबहादुर मोक्तान खानीखोलाको वडा नम्बर ९ मा बस्छन् । १० वर्षदेखि उनी यसरी नै ओछ्यानमै बस्दै आएका छन् । अपांगता परिचयपत्र बनाएपछि राज्यबाट भत्ता पाइने सुनेकी झलककी आमाले त्यो अवसर कहिले पनि पाइनन् । तर, स्थानीय सरकारले झलकलाई अपांगगता परिचयपत्र वितरण गरेसँगै आर्थिक रूपमा छोराको उपचार गर्न सकिनेमा आमा नुनमाया मोक्तान खुसी छन् । 


मोक्तानजस्तै बबिता पौडेल पनि ९ वर्षको छोरालाई परिचयपत्र वितरण गर्दा दंग छिन् । 


कर्मचारी तथा पूर्वाधार अभावका कारण अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण ढिलै सुरु गरिए पनि नुनमायाजस्तै धेरैको अनुहारमा खुसी देखिने गाउँपालिकाको दाबी छ । 


गाउँपालिकाको अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५ मा उल्लेख भएबमोजिम पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई ‘क’ वर्ग, अति अशक्त अपांगता भएकालाई ‘ख’ वर्ग, मध्यम अपांगता भएकालाई ‘ग’ वर्ग र सामान्य अपांगता भएकालाई ‘घ’ वर्गको परिचयपत्र प्राप्त गर्ने बेहोरा उल्लेख छ । गाउँपालिकाले हालसम्म ६४ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । 


सरकाले हाल पूर्ण अशक्त, अपांगता र अति अशक्त अपांगता गरी क्रमश ‘क’ वर्ग र ‘ख’ वर्गको परिचयपत्र पाएका व्यक्तिलाई मासिक ३ हजार र १६ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकार आउनुअघि खानीखोलाबासी परिचय पत्र प्राप्त गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो ।

 

ढिलै भए पनि गाउँपालिकाले आफ्नै पालिकाबाट अपांगता परिचयपत्र वितरण गरी राज्यबाट प्राप्त हुने सुविधा पाउने व्यवस्था गरिदिएको छ ।