close

पक्की सडकमा गाडी भन्दा पहिला मेयरको फोटो !

पक्की सडकमा गाडी भन्दा पहिला मेयरको फोटो !

Trulli
ADVERTISEMENT

हेटौंडा– बागमती प्रदेशको मुकाम हेटौंडा उपमहानगरपालिका–१२ ठूलोथलीमा पक्की सडक पुगेपछि सडकमा नगरप्रमुखको फोटो टाँगिएको छ ।

 

प्रदेशको एक मात्र उपमहानगर हेटौंडाले कच्ची सडकलाई पक्की बनाउँदै नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिने क्रममा हेटौंडा–१२ ठूलोथलीमा पहिलो पटक पुगेको सडकमा स्ल्याब ढलान गरिएको छ । गाउँमा पक्की सडक निर्माण भएपछि हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको फोटो नै टाँसेका हुन् । ठूलोथलीका स्थानीयले यसअघि पक्की सडक निर्माण गर्न तीनै तहको सरकारदेखि सांसदहरुलाई आग्रह गर्दा पनि सम्बोधन हुन सकेको थिएन ।


प्रमुख महतके सक्रियतामा स्ल्याब ढलान भएपछि खुसीले उत्साहित स्थानीयले महतको फोटो टाँसेर होडिङ बोर्ड राखेका हुन् । बोर्डमा ‘राम्रो मेयर, हाम्रो मेयर’ लेखिएको छ । १० लाख रुपैयाँ लागतमा निर्माण भएको स्ल्याब सडकको महतले उद्घाटन पनि गरेका छन् । लामो समयदेखि पक्की सडकको चाहना राखेका स्थानीयले गाउँमा विकास भएपछि स्थानीय सरकारको अनुभुति गर्न पाएको भन्दै खुसी भएका छन् ।

 

सडक निर्माण गर्दै महतले ठूलोथली वरपरका गाउँमा २५ लाख रुपैयाँ बजेट थपेर सडक निर्माणको काम गर्ने विश्वास दिलाएका छन् । उनले ठूलोथलीमा मात्र नभई नगरभरी कच्ची सडकलाई पक्की गर्ने कामले तीव्रता पाएको बताए । स्थानीय सरकारसँग जनताको अपेक्षालाई पूरा गर्न भौतिक विकासतर्फ सडक निर्माणलाई प्राथमिकतामा राखेको महतको भनाई छ । उनले नगरभित्रका विकट क्षेत्रमा पनि सडक निर्माण भइरहेको बताए ।


कच्ची सडक मुक्त अभियानको क्रममा हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७६÷०७७ मा हेटौंडाका १९ वटै वडामा ३१ हजार ५ सय ७५ मिटर सडक स्ल्याब ढलान गरेको थियो । १ हजार १ सय १ मिटर सडकलाई कालोपत्रे गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ 


स्ल्याब र कलोपत्रेका लागि ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च जनाइएको छ । नगरबासीलाई पक्की सडक यात्रा गराउने उद्देश्य रहेको नगरप्रमुख महतको भनाइ छ ।


गत आवमा १५ किलोमिटर ७ सय ४५ मिटर सडकको नयाँ ट्रयाक खोलिएको थियो । चालू आवमा पनि पक्की सडक निर्माणसँगै नयाँ ट्रयाक खोल्ने कामलाई अगाडि बढाइएको महत बताउँछन् । कतिपय वडामा हालसम्म पनि सडक पुगिसकेको छैन । सडक पूर्वाधार नपुगेको क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएको महतले बताए । हेटौंडाको १, ३, १९, १५, १६, १८ लगायतका वडामा ट्रयाक निर्माण गरिएको हो ।