close

अमरगढीका नगरप्रमुख र उपप्रमुखको सराहनीय कदम: आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

अमरगढीका नगरप्रमुख र उपप्रमुखको सराहनीय कदम: आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाले नगरपालिकाको गाडीलाई एम्बुलेन्स र टिपरलाई शव वाहन बनाउने घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि अमरगढीले यस्तो घोषणा गरेको हो ।

 

अमरगढीले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरप्रमुख अनि उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शव वाहन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले बताए ।

 

उनका अनुसार नगरप्रमुख र उपप्रमुख चढ्ने २३९ नम्बरको गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिपरलाई शव वाहन बनाउने निर्णय गरिएको हो । सरकारी गाडीलाई एम्वुलेन्स बनाउने अमरगढी जिल्लामै पहिलो स्थानीय तह भएको छ ।

 

यसअघि जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना संक्रमितका लागि प्रयोग गर्नुपर्ने आवाज नागरिक स्तरबाटै उठेको थियो । 

 

सामाजिक सञ्जाल फेसबुकमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले लकडाउनमा जनप्रतिनिधिलाई भन्दा नागरिक र स्वास्थ्यकर्मीलाई सवारी साधनको आवश्यकता रहेकाले जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुझाएका थिए ।

 

कोभिडका सिकिस्त बिरामीलाई धनगढी पठाउन एम्बुलेन्स अभाव रहेकाले स्थानीय तह र अन्य कार्यालय गाडी पनि तयार हुनुपर्ने एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदको माग छ । 

 

कोरोनाको ‘हटस्पट’ बन्दै अमरगढी

 

सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाको केन्द्रमा रहेको छ, डडेल्धुरा । सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कोरोना संक्रमण फैलिएको छ । अमरगढीमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । डडेल्धुरामा बुधबारसम्म १९६ जना सक्रिय कोरोना संक्रमित छन् ।

 

अमरगढी नगरपालिकामा मात्रै १४१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरामा समुदायमा समेत कोरोना फैलिएको आशंका छ । भारतबाट आएका नागरिकलाई चेकजाँच नगरी सीधै घर पठाउँदा संक्रमण तीव्र फैलिएको विज्ञहरू बताउँछन् ।