close

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई २५ हजार नगद दिँदै कटारी 

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई २५ हजार नगद दिँदै कटारी 

Trulli
ADVERTISEMENT

कटारी(उदयपुर)- उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नगरपालिकाले प्रतिमृतक २५ हजार रुपैयाँ मृतकका परिवारलाई दिने भएको हो । 

 

नगर कार्यपालिकाको मंगलबारको बैठकले प्रतिमृतक परिवार २५ हजार रुपैयाँ दिने निर्णयसँगै होम आइसोलेसन किटसमेत उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

 

संक्रमणबाट ज्यान गुमाएका नगरबासीलाई सहज होस् भन्ने उद्देश्यले रकम दिने निर्णय गरिएको उनको भनाइ छ । एकै परिवारका १ जना बढीको संक्रमणबाट ज्यान गए प्रतिमृतक परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।

 

‘जतिले ज्यान गुमाउँछन्, उतिलाई नै २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउँछौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘संक्रमितलाई किट वितरण गर्नेसमेत निर्णय गरेका छौँ ।’

 

कोरोनाका कारण मृत्यु भएका अतिविपन्न स्थानीयलाई वडा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।

 

संक्रमितलाई वितरण गरिने किटमा स्वास्थ्य सामग्री राखिने नगरपालिकाले जनाएको छ । प्रतिसंक्रमितलाई दिइने किटमा औषधी, मास्क, स्यानिटाइजरलगायत आवश्यक सामग्री राखेर वितरण गरिनेछ ।


बैठकले नगरको वडा नम्बर १० मा १३ घरधुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबासयोग्य उपयुक्त स्थानमा बसोबास व्यवस्था मिलाउने निर्णय गरेको छ ।


नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हाल कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन् । शाखाका प्रमुख सुरेश दाहालका अनुसार नगरको वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर १४ का २ जना गरी ५ जनाले ज्यान गुमाएका हुन् ।