close

किट बोकेर होम-आइसोलेन धाउँदै कटारीका जनप्रतिनिधि

किट बोकेर होम-आइसोलेन धाउँदै कटारीका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)- उदयपुरको कटारी नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकालाई किट वितरण र स्वास्थ्य परामर्श सेवा दिन घरघरै पुग्न थालेका छन् । 


नगरपालिकाको कार्यपालिका बैठकको गत मंगलबारको निर्णयअनुसार जनप्रतिनिधि संक्रमितको घरघरमै पुगेर किट र परामर्श दिन थालेका हुन् । कटारी नगरपालिकाभित्र कोरोना संक्रमित ११५ मध्ये ९३ जना होम आइसोलेसनमा बसेकाले यी सामग्री वितरण सुरु गरिएको हो ।


जनस्वास्थ्य शाखा कटारीका प्रमुख सुरेश दाहालका अनुसार ताराघारी आइसोलेसन सेन्टरमा ७ जना संक्रमित छन् भने ३ संक्रमितको मृत्यु र १५ जना निको भएका छन् । होम आइसोलेशनमा बस्न नचाहने, नसक्नेलाई वडा नम्बर ३ को ताराघारीस्थित आइसोलेसन सेन्टरमा खाने,बस्नेलगायत सबै सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । 

 

स्वास्थ्य किटमा भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी विथ क्याल्सियम, प्यारासिटामोलजस्ता एलोपेथिक र इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधी राखिएका छन् ।


किटमा मास्क, स्यानिटाइजर, साबुन, नेलकटरलगायत व्यक्तिगत स्वास्थ्य र सरसफाइसम्बन्धी सामग्री पनि राखिएको छ । कोरोना संक्रमित सबैको घरघरै पुगेर यी सामग्री वितरण गर्न सुरु गरिएको कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।  संक्रमितलाई आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श पनि स्वास्थ्यकर्मीले औषधी वितरणसँगै दिन सुरु गरेका छन् ।


किट वितरण तथा परामर्शका लागि संक्रमितको घरघरमै नियमित पुग्ने गरेको वडा नम्बर २ का वडाध्यक्ष प्रेम थापाले जानकारी दिए । संक्रमितको नियमित सम्पर्कमा रहनुका साथै किट वितरण गरेको वडा नम्बर ७ का वडाध्यक्ष धनकुमार दनुवारले बताए ।

 

वडाध्यक्षहरूले वडाबासीले कुनै समस्या परे तुरुन्त सम्पर्क गर्न आग्रह गर्ने गरेका छन् । होम आइसोलेसनमा बसेको अवस्थामा संक्रमितले स्वास्थ्यसम्बन्धी कुनै समस्या भोग्नुपरे कटारी अस्पताल नगरपालिकाको स्वास्थ्य शाखाको फोन नम्बर उपलब्ध गराइएको छ ।