close

महामारी नियन्त्रणमा धनकुटाका स्थानीय तह अब्बल (भिडियो खबर)

महामारी नियन्त्रणमा धनकुटाका स्थानीय तह अब्बल (भिडियो खबर)

ADVERTISEMENT

धनकुटा- कोरोना भाइरसको महामारी विस्तारै कम हुँदै गएको छ । सरकारले लगाएको निषेधाज्ञा पनि विस्तारै खुकुलो हुँदै गएको छ । यो बीचमा महामारी नियन्त्रणमा ल्याउन हरेक स्थानीय तहले आफ्नै सामर्थ्यको प्रयोग गरे । सीमित श्रोत, साधनको उपयोग गर्दै महामारी नियन्त्रण गर्न सफल भए । धनकुटाका स्थानीय तहले पनि यो महामारीमा संक्रमितलाई उपचार खर्च, पौष्टिक आहार लगायतका सुविधा दिए । मृतकका परिवारप्रति सदासयता देखाए । उनीहरूको यही नागरिक लक्षित सेवाले महामारी नियन्त्रणमा आइरहेको छ । अझ, यसलाई थप प्रभावकारी बनाउने गरी धनकुटाका पालिकाहरू लागिपरेका छन् । 


धनकुटा जिल्लामा धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकासँगै शहीदभूमि, चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिकाले होम आइसोलेसनमा भएका कोरोना संक्रमितलाई औषधि, भिटामिन, हर्लिक्स, अण्डा, माक्स आदि राहत दिन जनप्रतिनिधि घरघरमा पुग्ने गरेका छन् । त्यति मात्र नभई घरघरमा नै स्वास्थ्यकर्मी, आर्थिक स्थिति निम्न भएकालाई एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । जिल्लाका स्थानीय तह कोरोना रोकथाम र नियन्त्रणमा अहोरात्र लागिपरेका छन् ।


चोबिसे गाँउपालिकाले कोरोना पीडितलाई अस्पताल बस्दा दैनिक ७ सय  र मृत्यु भएका परिवारलाई ३० हजार रुपैयाँ दिने गरेको छ । साँगुरीगढी गाउँपालिका, पाख्रीवास नगरपालिका, शहीदभूमि गाँउपालिकाले कोरोनाबाट मृत्यु भएकाका परिवारलाई २० र छथर जोरपाटी गाँउपालिकाले २५ हजार दिने गरेको छ ।  

 

धनकुटा नगरपालिकाले पनि संक्रमितलाई अस्पताल ल्याउन र जिल्ला बाहिरका अस्पताल लैजान परेमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । महालक्ष्मी नगरपालिकाले पनि संक्रमितका लागि एम्बुलेन्सको व्यवस्था गर्नुको साथै संक्रमित आइसोलेसनमा भर्ना भएमा उपचार खर्च स्वरूप रु २५ हजार नगद दिने गरेको छ । जिल्लाका स्थानीय तहले दोस्रो लहरको सुरुवाती चरणदेखि पूर्वाधार तयार गरेर संक्रमितको उपचार गरिरहेका छन् ।


जिल्लाको साँगुरीगढी गाउँपालिकाले कोरोना संक्रमित प्रत्येक व्यक्तिलाई ५ हजार रुपैयाँका दरले राहत तथा मृत्यु हुनेका परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराएको छ । गाउँपालिकाको टोली नै संक्रमित र मृतकको घरमै पुगेर राहत वितरण गर्ने गरेका छन् । संक्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्दा आर्थिक समस्या आउने र मृतकका परिवारमा काजकिरिया खर्च नहुने समस्या देखिएपछि पालिकाले राहत वितरण गरेको हो । संक्रमितलाई पौष्टिक आहार खरिद गर्न र मृतकका परिवार सान्त्वना दिन राहत वितरण सुरु गरिएको हो ।


होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेको समस्या, परिवार, छिमेकले गर्ने व्यवहारका बारेमा बुझ्नका लागि धनकुटका प्रत्येक स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली घरघरमै पुग्छन् । जिल्लामा हालसम्म ४ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये १ हजार १ सय ३० जना निको भइसकेका छन् । हालसम्म २२ जनाको मृत्यु भइसकेको छ ।