close

मध्यनेपालले बाँड्यो ५० प्रतिशत अनुदानमा भैँसी

मध्यनेपालले बाँड्यो ५० प्रतिशत अनुदानमा भैँसी

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको मध्यनेपाल नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ ।


दूध पकेट क्षेत्र विस्तार र किसानको आयआर्जन बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको मध्यनेपाल नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका क्रस मुर्रा भैँसी वितरण गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । 


नगरपालिकाले लागत साझेदारीमा तय गरेको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि सहकारी तथा समूहलाई भैँसी वितरण गरेको हो ।


नगरपालिकाले वडा नम्बर ४ र ६ का किसान आबद्ध सहकारी तथा समूहलाई ३२ वटा माउ भैँसी वितरण गरेको छ ।कार्यक्रमअन्तर्गत वडा नम्बर ४ साविक रम्घाअन्तर्गत साना किसान कृषि सहकारीलाई एउटा राँगो र ११ वटा माउ भैँसी वितरण गरेको नगरपालिका पशु सेवा शाखा प्रमुख विपिन अधिकारीले जानकारी दिए ।


उनका अनुसार वडा नम्बर ६ भोर्लेटारको स्यानिस्वारा दुरा कृषक समूह र मेलमिलाप कृषक समूहका लागि ९/९ वटा भैँसी र १/१ वटा राँगो वितरण गरिएको छ ।


कार्यक्रमका लागि ससर्त बजेटअन्तर्गत २१ लाख ७० हजार रुपैयाँ विनियोजन भएको र कृषकको ५० प्रतिशत लागत साझेदारीमा भैँसी वितरण गरिएको नगरपालिकाले जनाएको छ । 


नगर प्रमुख रमेशकुमार पाण्डेले कृषक सहकारी तथा समूहका प्रमुख एवं प्रतिनिधिलाई भैँसीको माउ वितरण गरे ।


नगरपालिकाले भँैसीपालनका लागि उपयुक्त ठाउँ छनोट गरी कृषकलाई व्यावसायिक बनाउँदै सिंगो नगर क्षेत्रलाई दूधमा आत्मनिर्भर बनाउन भैँसी प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।