close

गाउँको विकासमा वेथितिः उपभोक्ताले गर्ने काम दलकै उक्साहटमा ठेकेदारलाई

गाउँको विकासमा वेथितिः उपभोक्ताले गर्ने काम दलकै उक्साहटमा ठेकेदारलाई

Trulli
ADVERTISEMENT

बाग्लुङ- आर्थिक वर्ष सुरु हुनुअघि भेला र आवश्यक विकास योजनाको छनोट गर्ने चलन छ । छनोट भएका योजनामा नगर वा गाउँपरिषद्ले प्राथमिकताको आधारमा रकम विनियोजन गराउने चलन छ । यस्ता योजनामा उपभोक्ता समिति गठन गरेर बजेट सम्झौतापछि काम सुरु हुन्छ ।

 

उपभोक्ताले गर्ने हुँदा लागत सहभागिता पनि जुटाउनैप¥यो । तर, पछिल्लो समय अधिकांश काम ठेकेदारमार्फत गराउने चलन बढेको छ । लागत सहभागिता जुट्न नसकेको भन्दै राजनीतिक नेतृत्वले नै ठेक्कामा लैजान उक्साउने गरेका हुन् ।

 

ठेक्का लिनेहरू पनि अधिकांश दलका नेता र कार्यकर्ता छन् । ठेक्कामा लिएपछि काम अलपत्र पार्ने, कमजोर सामग्री प्रयोग गर्नेजस्ता काम भइरहेका छन् ।


सदरमुकाम बाग्लुङ नगरपालिकासहित अधिकांश पालिकामा यस्ता योजना सञ्चालित छन् । उपभोक्ता समिति गठन भएका स्थानमा बजेट आएको छैन । तर, ठेक्कामा दिएका स्थानमा गत वर्षको बजेट खातामा राखेरै धमाधम काम लगाइएको छ ।

 

विशेषगरी स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमका योजनामा यो प्रवृत्ति बढेको छ ।  गत वर्ष नै सक्नुपर्ने १ करोड बजेटको भलायटाकुरा–काभ्रे–कालीमाटी सडक त्यसको उदाहरण हो । ‘बीएसए निर्माण सेवाले ठेक्का लिएर अहिले पनि काम गरिरहेको छ । जनप्रतिनिधिले भने गत वर्षकै काममा म्याद थपेको दाबी गर्छन् ।

 

यस्तै, दर्जन आयोजनामा ठेकेदारले असोज तेस्रो साताबाट काम थालेका छन् । ‘पुरानो पैसा बचाउन बहुवर्षे योजना भनेर काम लगाइएको होला, नत्र बजेट असारमै सक्नुपथ्र्यो,’ बाग्लुङ नगरका वडा नम्बर ६ का अध्यक्ष खेमराज सापकोटा भन्छन्, ‘उपभोक्ताले गरेझंै ठेकेदारबाट गुणस्तर भने हुँदैन ।’

 

नगरपालिकाको स्वामित्वमा ल्याइएकाले पुरानो बजेट भए पनि अहिले काम गरिएको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी दाबी गर्छन् । बजेट बाँकी भए कोरोना कोषमा लगाउन सरकारले निर्देशन दिएको थियो । नगरपालिकाले आफ्नो खातामा राखेर काम गरेको देखाएपछि कोषमा जम्मा गर्नु नपरेको हो ।

 


गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयले दिएको १ करोड बजेटबाट औद्योगिक ग्रामको पूर्वाधार तयार गर्नुपर्ने काममा पनि नगरपालिकाले ठेक्का दिएर पैसा बचाएको छ ।

 

सातबिसे कन्स्ट्रक्सनले लिएको ठेक्काको काम पूरा गरेन । अहिले तारबार गराएर छाड्ने भन्दै नगरपालिकाले बल्ल काम लगाएको हो ।

 

जैमिनी नगरपालिकाले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमकै बजेटबाट टुनिबोटदेखि कुस्मिसेरा सडक कालोपत्रे गर्न ठेक्का लगाएको छ । १ करोड बजेटले १ किमि सडक कालोपत्रे गर्न तिलक निर्माण सेवाले काम पाएको छ ।

 

असार मसान्तमा सक्नुपर्ने काम असोज अन्तिम साता मात्रै थालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा कोरोनाको संक्रमण र बर्खाले काम ढिला भएको दाबी गर्छन् ।

 

अघिल्लो वर्ष रेग्मी कन्स्ट्रक्सनले बाग्लुङ नगरपालिकाकै ३ वटा खानेपानीको ठेक्का लिएर लागतभन्दा ९० लाख बढी भुक्तानी मागेपछि बाग्लुङ नगरपालिकामा विवाद भएको थियो । लागत बढीको रकम दिने गरी कार्यपालिकाले निर्णय गर्न खोजेपछि जनप्रतिनिधिहरू दुई समूहमा विभाजित भएका थिए ।

 

रेग्मीको झन्डै ६० लाख रुपैयाँ भुक्तानी रोकिएको छ । ‘ठेकेदारबाट कमिसन खान पाइने, उपभोक्ताले काम गर्न पनि नपर्ने भएपछि ठेक्का दिन खोजिन्छ,’ बाग्लुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का  भन्छन्, ‘नियमअनुसार काम गरौं भन्दा कार्यपालिकामै झगडा हुन्छ ।’ हरेक वर्ष एउटै ठेकेदारलाई एकै प्रकृतिका काम दिएर कमिसन खाने प्रवृत्ति मौलाएको उनले टिप्पणी गरे ।