close

ठेहे गाउँका जुवाडेलाई १ हजार जरिमाना

ठेहे गाउँका जुवाडेलाई १ हजार जरिमाना

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहे गाउँका आमा समूहले जुवातासमा प्रतिबन्ध लगाएका छन् । वडाका पुरुष जम्मा भएर जुवातास खेल्दा समय खेर फाल्नुका साथै धनको समेत नाश गरेपछि आमा समूह भेला भएर जुवातासमा प्रतिबन्ध लगाएका हुन् ।


अध्यक्ष लालपुरी भण्डारी र सचिव नानी भण्डारी संयोजकत्वको आमा समूहले वडाका पुरुषले गाउँका कुनै पनि स्थानमा तास खेलेको थाहा पाए कारबाहीस्वरुप १ हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको छ ।


आमा समूहले २ सदस्यलाई प्रत्येक दिन गाउँमा पुरुष ताल खेले÷नखेलेको हेर्ने जिम्मा तोकेको छ । तास खेल्दा समय खेर जानुका साथै धनजनको क्षति हुने र घरपरिवारमा झगडा बढेकाले प्रतिबन्ध लगाइएको समूहकी अध्यक्ष लालपुरी भण्डारीले बताइन् ।


सदरमुकाम सिमकोटमा दसैं–तिहार, छठलगायत पर्व सुरु भएसँगै जुवा खेल्नेको बिगबिगी बढेको छ । रातीको समय लाखौंको बाजी थापेर जुवा खेलाइने गरेको छ ।


बुधबार मात्रै सिमकोटका विभिन्न होटलमा तास खेलिरहेको सुराकीका आधारमा गएको प्रहरीको बजार गस्ती टोलीले जुवाडे समात्न असफल भएको छ ।


जुवा खेलिरहेको सूचना पाएपछि जुवाडे खोज्न गए पनि पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए । ‘बजार गस्तीको टोली जुवा खेल्ने ठाउँ पुगे पनि उनीहरू भागदौड गरेकाले नियन्त्रण गर्न नसकिएको हो’, सुवेदीले भने ।