close

मंगलाले बनायो कोरोना अस्पताल

मंगलाले बनायो कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको मंगला गाउँपालिकाले जिल्लामै पहिलो पटक ५ वटा बेड क्षमताको कोरोना अस्थायी अस्पताल सञ्चालन गरेको छ । 

 

गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै अर्मन स्वास्थ्य चौकीमा स्थापना गरिएको कोरोना अस्पताल प्रयोगमा आइसकेको छ । अस्पतालमा गाउँपालिकाका कोरोना संक्रमितको उपचार गरिने प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । 

 

‘संघ र प्रदेश सरकारको निर्णय अनुसार अस्थाई कोरोना अस्पतालको संरचना तयार पारिएको थियो,’ उनले भने ‘गाउँपालिकाका संक्रमित कर्मचारीहरुलाई सोही अस्पतालमा राखेर सेवा सुरु गरेका छौ ।’

 

पालिकाले एकजना चिकित्सक, दुईजना नर्स र एकजना कार्यालय सहयोगी भर्ना गर्न विज्ञापन आह्वान गरिसकेको छ । विज्ञापन अनुसारका स्वास्थ्यकर्मी भर्ना नहुँदासम्म बेनी अस्पतालसँग समन्वय गरेर पालिकाका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएको छ । 

 

स्वास्थ्य चौकीको नियमित सेवामा असर नगर्ने गरी सुरक्षित तरिकाले कोरोना अस्पताल सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिले दशै भत्ता वापतको कोरोना कोषमा जम्मा गरेको रकमबाट अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने तयारी छ । 

 

कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने औषधि र बेड खरिद गरिएको छ । अन्य स्थानीय तहहरुले पनि अस्थाई कोरोना अस्पताल सञ्चालनका लागि सामग्री खरिद, पूर्वाधार निर्माण, व्यवस्थापन र जनशक्तिको पदपुर्ति प्रक्रिया सुरु गरेका छन् । 


अन्नपूर्ण गाउँपालिकाले नारच्याङ, रघुगंगाले भगवती र पाखापानी, मालिकाले दरवाङ र धवलागिरीले मुना मा कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी कोरोना अस्पताल निर्माण गर्न अस्पताल नभएका स्थानीय तहलाई १० लाख रुपैंयाका दरले बजेट विनियोजन गरेको थियो । 


१० लाख रुपैयाँ बजेट मध्ये ४ लाख ५० हजार रुपैंया तलब, ५० हजार रुपैयाँ औषधि र ५ लाख रुपैयाँको बेडसहितका सामग्री किन्ने पालिकाले जनाएको छ ।