close

स्वास्थ्यमा देवदहकाे उदाहरणीय काम, बथिङ सेन्टरदेखि स्वास्थ्य बीमासम्म

स्वास्थ्यमा देवदहकाे उदाहरणीय काम, बथिङ सेन्टरदेखि स्वास्थ्य बीमासम्म

Trulli
ADVERTISEMENT

रूपन्देही - रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर १२ सिक्टहन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । देवदह नगरपालिका नगरप्रमुख हीराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले बर्थिङ सेन्टर उद्घाटन गरेका हुन् ।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं देवदह नगरपालिका नगरप्रमुख हीराबहादुर खत्रीले देवदह नगरपालिका ११ र १२ वडालाई  लक्षित गरी स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टर  सुरु गरिएको बताए ।

 

नगरप्रमुख खत्रीले स्वास्थ्य मौलिक हक भएकाले कुनै पनि मानिस स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भनेर नगरपालिकाले काम अघि बढाएको बताए । उनले देवदह नगरपालिकामा शून्य होम डेलिभरी घोषणा गर्ने तयारीसमेत गरेको बताए । संघीय सरकार र देवदह नगरपालिकाको संयुक्त लगानीमा १५ शय्याको  अस्पताल निर्माणको कार्य अघि बढेको बताए ।


साविकका तीनवटा गाउँपालिका मिलेर बनेको देवदह नगरपालिकामा अहिले तीनवटा स्वास्थ्य चौकी र दुईवटा शहरी स्वास्थ्य संस्था रहेका छन् । नगरप्रमुख खत्रीले देवदह केराबानीभन्दा सिक्टन क्षेत्र विकासका काममा पछि भएकाले अहिले तल्लो क्षेत्रबाट काम सुरु गरेको बताए । 


संघीय सरकारको विशेष अनुदान र नगरपालिकाको ५० प्रतिशत लगानीमा स्वास्थ्य संस्था निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । देवदह नगरपालिकामा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र अन्य पूर्वाधारतर्फ विकासका काम तीब्र गतिमा भइरहेको उनको भनाइ छ ।


देवदह नगरपालिकाका उपप्रमुख विद्यादेवी गुरुङले हाल रहेको प्रति १ लाख २३९ जना मातृ मृत्यु दरलाई घटाई सन् २०३० सम्म ७० जनामा झार्ने संघीय सरकारको लक्ष्यलाई पूरा गर्ने र देवदह नगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने उद्देश्यका साथ सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टर सुरु गरिएको बताइन् । 


देवदहभरि चिकित्सकीय घुम्ती सेवा सुरु गर्ने


देवदह नगरपालिकाले अब घुम्ती चिकित्सीय सेवा सञ्चालन गर्ने भएको छ । नगरप्रमुख हीराबहादुर खत्रीले स्वास्थ्य चौकी  भएका र नभएका सबै क्षेत्रमा नगरपालिकाले घुम्ती चिकित्सकीय सेवा सञ्चालन गर्ने बताए । नगरपालिकाले यो  व्यवस्था मिलाइसकेको उनको भनाइ छ । 


स्वास्थ्य चौकी नभएका वडामा  घुम्ती सेवा बढी सञ्चालन गर्ने उनले बताए । घुम्ती सेवामा चिकित्सकदेखि प्यारामेडिकल नर्स र औषधि रहने तरिकाले यो सेवा सुरु गर्ने तयारी भएको खत्रीले बताए । उनले चिकित्सकको नियुक्तिका लागि सूचना प्रकाशन भइसकेको र केही समयपछि यो सुरु गर्ने बताए ।


सुत्केरी आमालाई पोषण झोला, घीउ, अन्डादेखि साबुनसम्म


देवदह नगरपालिकाले सुत्केरी आमालाई न्यानो झोलासँगै षोषण झोला पनि उपलब्ध गराएको छ । नगरपालिकाले उपलब्ध गराएको उक्त पोषण झोलामा घीउ, अन्डा र अन्य खानेकुराका साथै सरसफाइका लागि साबुनसमेत छ ।


नगरपालिकाले बच्चा जन्मेपछि १० पटक स्वास्थ्य संस्थामा परीक्षण गर्न लैजानेका लागि थप ५०० रुपैयाँ प्रोत्साहन  यातायात खर्चसमेत उपलब्ध गराएको नगरप्रमुख खत्रीले बताए । संघीय सरकारले दिने आमा सुरक्षा कार्यक्रमअन्तर्गत देवदह नगरपालिकाले आवश्यक थप क्याल्सियम चक्की पनि वितरण गरेको छ ।


जेष्ठ नागरिकलाई निःशुल्क औषधि


देवदह नगरपालिकाले जेष्ठ नागरिकहरूलाई निःशुल्क औषधि उपलब्ध गराएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सुगर र प्रेसरको औषधि निःशुल्क घरमै उपलब्ध गराउने गरेको नगरप्रमुख खत्रीले बताए । 

 

‘हामीले सबै वडामा तथ्यांक संकलन गरेका छौँ । आवश्यक औषधि स्वयंसेविकामार्फत घरघरमा पुर्‍याउँदै आएका छौँ’, उनले भने, ‘बीचबीचमा स्वास्थ्यकर्मी पनि उनीहरूको अवस्थाका बारेमा जानकारी लिन घरघर जाने गरेका छन् ।’


स्वास्थ्य बीमा


संघीय सरकारको नीति तथा कार्यक्रम भए पनि  कोरोनाका बीच कार्यक्रम सुरु गर्नेका लागि बीमा अभिकर्ता नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

 

नगरपालिकाले बीमा सुरु गर्नका लागि आवश्यक सबै सहयोग गर्ने नगरप्रमुख खत्रीले बताए । उनले स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि अवरोध नहुने तरिकाले काम अघि बढाएको दाबी गरे ।