close

बरेङका सडकमा कालोपत्रे

बरेङका सडकमा कालोपत्रे

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङको बरेङ गाउँपालिकाको केन्द्र बरेङ बजारमा सडक कालोपत्रे गरिएको छ । दशैँ बिदाको समय स्थानीय मजदुर प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रेको काम अन्तिम चरणमा पुर्‍याएको हो । 


कोरोना कहरका कारण मजदुर पाउन कठिन भएको भन्दै लामो समयदेखि रोकिएको कालोपत्रेको कामले दशैँका बेला प्राथमिकता पाउँदा झन्डै १ किलोमिटर सडक पक्की बनेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘बरेङ बजारमा सडक कालोपत्रेको काम ९६ प्रतिशत सकियो,’ शर्माले भने, ‘यो  पालिकाको पहिलो कालोपत्रे सडक हो ।’

 

साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाएर सडक कालोपत्रे गरिएको छ । गाउँपालिकाले कालोपत्रेको कामलाई पालिकाको गौरवको योजनामा समेटेको छ । 

 

कालोपत्रे सडक बरेङ बजारदेखि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने खण्डअन्तर्गत पर्छ । नेपाल सरकारको समानीकरण अनुदान ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रे भएको हो ।

 

३ करोड ४४ लाख रुपैयाँ लागतमा केपी कन्स्ट्रक्सनले कालोपत्रे गर्नेे जिम्मा लिएको थियो । १ किलोमिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको सडक कात्तिक अन्तिमसम्म गाउँपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।