close

अब शुद्धोधनमै हुन्छ सिभिल इन्जिनियरिङकाे पढाइ

अब शुद्धोधनमै हुन्छ सिभिल इन्जिनियरिङकाे पढाइ

Trulli
ADVERTISEMENT

रुपन्देही - शुद्धोधन गाउँपालिकाकाे फर्साटिकर माविले  सिभिल इन्जिनियरिङको अध्यापन अनुमति पाएसँगै चालू सत्रबाटै पढाइ सुरु भएको छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने अवधारणाअनुसार शुद्धोधनमा इन्जिनियरिङ कक्षा चलाइएको हो ।

 

गत शैक्षिक सत्रमा सिभिल इन्जिनियरिङ अनुमति पाएपछि कक्षा ९ मा ४२  विद्यार्थी भर्ना भएका थिए भने यस सत्रमा सञ्चालन अनुमति सिट पूरा भएको फर्साटिकर माध्यमिक विद्यालयले जनाएको छ । 


विद्यालयका प्रधानाध्यापक देवराज पौडेलका अनुसार सिभिल इन्जिनियरिङ पढाइलाई प्रविधि र प्राविधिक मैत्री बनाउने गरी ड्रिम कार्यक्रमको रुपमा अघि बढाउने सोचसहित अघि बढिएको छ ।शुद्धोधनका प्रवक्ता तथा शिक्षा समिति संयोजक एवं वडा-४ का अध्यक्ष राजेन्द्र कँडेलले निरन्तरको प्रयासबाट सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन अनुमति प्राप्त गर्न सकिएको बताए ।

 

‘गत वर्षबाट हामीले यो शिक्षाको पढाइ सुरु गरेका थियौं । गत वर्ष गाउँपालिकाले २१ लाख रुपैयाँ भवन निर्माणका लागि दिएको छ । यस वर्ष कलेजको भवन बनाउन राष्ट्रिय योजना आयोगबाट ५ करोड विशेष अनुदान आएपछि गाउँपालिकाले टेन्डर गरिसकेको छ’, उनले भने ।


अहिले पनि गाउँपालिकाले दरबन्दीभन्दा बढी शिक्षकका लागि सहयोग गरेको उनले जानकारी दिए । व्यवस्थित रुपमा कलेज सञ्चालन गर्न विद्यालयको आफ्नै जग्गामा प्रविधिमैत्री भवन निर्माणको डिजाइन भएकाले त्यसका लागि टेन्डर  आह्वान गरिएको वडाअध्यक्ष कँडेलले जानकारी दिए ।

 

छात्रावाससहितको बृहत् डिजाइन तयार पारिएको र बजेटको व्यवस्थाअनुसार २ वर्षभित्र  निर्माण सम्पन्न गर्ने योजना छ । ‘बजेट व्यवस्थापन तथा काममा सहजीकरण गर्न संघीय कृषिमन्त्री घनश्याम भुसाल, योजना आयोगका पदाधिकारी, गाउँपालिका अध्यक्ष, विद्यालय परिवारलगायतकाको सहयोगका कारण इन्जिनियरिङ विषय पढाउन सम्भव भएको हो’, कँडेलले भने । 

 

शुद्धोधन पालिका अध्यक्ष किशुनचन्द चौधरी सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनपछि बढ्दो बेरोजगारी अन्त्य र स्वदेशमै स्वरोजगार बन्न थप मद्दत पुग्ने बताउँछन् । ‘हाम्रो शिक्षा अहिले पनि व्यावहारिक छैन । गाउँपालिकाले  प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिएको छ । सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनका लागी आर्थिक, भौतिक सहयोग पनि गरिरहेका छौं’, चौधरी भन्छन् । 

 

८ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई यो कार्यक्रममा सहभागी गराइने उनको भनाइ छ । सिभिल इन्जिनियरिङ पढाइमा आरक्षण नदिइने र प्रतिस्पर्धाका आधारमा गरिब, जेहेनदारलाई प्राथमिकता दिइएको चौधरीले सुनाए । शुद्धोधनले शिक्षा क्षेत्रमा  विशेष बजेट विनियोजन गरेको पालिका अध्यक्षको दाबी छ ।