close

कृषिकाे आनन्दः गोठबाटै खोसाखोस हुन्छ भैँसीको दूध

कृषिकाे आनन्दः गोठबाटै खोसाखोस हुन्छ भैँसीको दूध

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- ४ का राजेश कँडेल र थानेश्वर कँडेल दाजुभाइले दैनिक ३५० लिटरभन्दा बढी दूध बेचेर आम्दानी गर्दै आएका छन् । ५० वटा भैँसी पाल्दै आएका कँडेल दाजुभाइले कृषि फार्म संचालन गर्दै आएका छन् । ‘३२ माउ छन् । साना–ठूला गरेर ५० भन्दा बढी भैँसी पालेका छौँ’, राजेश भन्छन् ।


कँडेल दाजुभाइले मासिक आठ लाख रुपैयाँभन्दा बढीको दूध बिक्री गर्छन् । फार्ममा छ जना कामदारले समेत रोजगारी पाएका छन् । यहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजार रुपैयाँको दूध बिक्री हुन्छ ।


फार्म संचालक राजेश कँडेलका अनुसार मासिक रूपमा दाना र परालमा तीन लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । ‘कामदारको पारिश्रमिक र बैंक ब्याजलगायतको खर्च हुन्छ । भैँसी थप पनि गर्दै आएका छौँ’, राजेशले भने, ‘सधैँ एकैनासको आम्दानी नहुने भएकाले वार्षिक कति हुन्छ भन्न सकिन्नँ ।’ यहाँ दूध लिन हरेक बिहान उपभोक्ताहरूको लाइन लाग्ने गर्दछ । डेरीमा अझसम्म दूध बेच्नु नपरेको उनी बताउँछन् । 


बर्दघाट नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको उनले बताए । ‘अनुदान पाए अझ धेरै गर्न सक्थ्यौँ’, कँडेलले भने, ‘तर, गरेकै छौँ, गरेजस्तै पनि भएको छ । उत्साही छौँ ।’ सरकारी अनुदानका ठूला कार्यक्रम आफूकहाँ नआएको उनको भनाइ छ ।


गोठबाटै प्रतिलिटर ८० रुपैयाँमा दूध बिक्री हुने गरेको छ  । कँडेल दाजुभाइको मिहिनेत र लगन राम्रो रहेको फार्मका छिमेकीहरू बताउँछन् ।


बर्दघाट नगरमा दैनिक सात हजार लिटर दूध उत्पादन हुन्छ । नगर दूधमा आत्मनिर्भर हुने अवस्थामा छ । नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताए । कृषिबाटै नगरको समृद्धि हुने भएकाले कृषकका योजना प्राथमिकतामा राखेको नगरप्रमुख बस्यालको भनाइ छ । 


नगरपालिकाले सिजनअनुसार घाँसका बिउ, गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन, थुनेलो रोकथाम र विभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ ।पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालका अनुसार नगरले कृषकलाई प्राविधिक परामर्श पनि दिँदै आएको छ । नगरमा १४२ वटा गाई तथा भैँसीका फार्म छन् ।