close

'कोरोना फ्रि जोन हो' मानहुँकोट, किन उर्लियाे हजारौं‌काे भीड ?

'कोरोना फ्रि जोन हो' मानहुँकोट, किन उर्लियाे हजारौं‌काे भीड ?

Trulli
ADVERTISEMENT

तनहुँ - महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामाजिक संजाल फेसबुक र संचारमाध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती पनि उस्तै छ । 


दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका- ५ को मानहुँकोट डाँडा पुग्छन् । यहाँको आन्तरिक पर्यटक संख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लिने गरेकामा शनिबार भने १० हजारभन्दा बढी पर्यटक पुगेका बताइएको छ । मेला, महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लागेको छ आज ।


यो संख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘गत वर्ष पर्यटकीय सिजनमा दैनिक दुई-तीन सयको हाराहारीमा पर्यटक आउँथे । यस वर्ष दशैँपछि त्यो संख्या बढेर हजारमा पुग्यो ।


मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । दमौली बजारको चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।


समुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कोरोना भुलेर हजारौँ पर्यटकको भीड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक संजालमा ‘मानहुँकोट कोरोना फ्रि जोन हो ?’ भनेरसमेत व्यंग्य गर्न थालिएको छ । 


घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी अनिवार्य कायम राख्न वडा अध्यक्ष श्रेष्ठको अनुरोध छ । ‘कोरोनाको कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुहोस्’, उनले भने ।


तनहुँका विभिन्न स्थानसँगै छिमेकी कास्की, स्याङ्जा, लमजुङ, गोरखा, चितवनलगायतका जिल्लाबाट यहाँ पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो ।


मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृंखला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ ।