close

रघुगंगाकाे मौवाफाँटमा अस्पताल

रघुगंगाकाे मौवाफाँटमा अस्पताल

Trulli
ADVERTISEMENT

बेनी - म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवामा सबै पालिकावासीहरूको समान पहुँचका लागि मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गरेको छ । 


गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गर्ने कार्यपालिकाको निर्णयका विषयमा भएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएका छन् । 


रघुगंगाको गत २० कात्तिकमा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको भूगोल, जनसंख्या तथा केन्द्रसमेतलाई आधार बनाई पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउनका लागि संशोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।


सो निर्णयपछि रघुगंगा- १ बेगका स्वदेश तथा विदेशमा रहेका बासिन्दाहरूले ठाउँ तोकेर आएको अस्पतालको योजना स्थानान्तरण गरेको भन्दै तीनै तहका जनप्रतिनिधिप्रति टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


अस्पतालबाट प्रदान हुने स्वास्थ्य सुविधाहरू पलिकावासी सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतामा रही कार्यपालिकाले उक्त निर्णय गरेको अध्यक्ष भण्डारीले स्पष्ट पार्नुभएको छ । बेगवासीहरूमा असुविधा पर्न गएको महसुस गरिए पनि सबैलाई पायक पर्ने दृष्टिकोणबाट निर्णय गरिएको हुँदा भ्रममा नपर्न गाउँपालिकाले अनुरोध गरेको छ । 


स्वास्थ्य सेवा र सुविधामा नागरिकको सहज पहुँचका लागि बेगको बादुकलगायत भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सात ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको अध्यक्ष भण्डारीले बताए । 


संघीय सरकारको प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने योजनाअनुसार रघुगंगाले पालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा १० शय्याको अस्पताल बनाउने निर्णय गरेको हो । कुल १० करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको अस्पताल निर्माण गर्न चालू आर्थिक वर्षमा ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।


यसअघि संघीय सरकारमार्फत रघुगंगा- १ बेगखोलामा स्वास्थ्य चौकी विस्थापित गरी अस्पताल निर्माण गर्ने गरी योजना स्वीकृत भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत बेगको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनाउन एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।