close

कोचिङ कक्षा चलाउँदै फक्ताङ्लुङका विद्यालय, शुल्क पालिकाले व्यहाेर्ने

कोचिङ कक्षा चलाउँदै फक्ताङ्लुङका विद्यालय, शुल्क पालिकाले व्यहाेर्ने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यालयलाई कोचिङ कक्षा सञ्चालनबापतको रकम वितरण गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले विद्यालय समयबाहेक अरू बेला कोचिङ कक्षा सञ्चालन गर्न पालिकाभरिका सबै विद्यालयलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । 


शाखा अधिकृत जयप्रसाद रिजालका अनुसार कोचिङ कक्षा सञ्चालन गर्ने विद्यालयले २७ कात्तिकसम्म परियोजना प्रस्तावना पेस गरिसक्नुपर्नेछ । गाउँपालिकाले कोचिङ कक्षा सञ्चालनका लागि (कक्षा १-३) सुचारु भएका विद्यालयलाई २५ हजार, (कक्षा १-५) सञ्चालन भएका विद्यालयलाई ५० हजार, कक्षा (१-८) सञ्चालन भएका विद्यालयलाई एक लाख र कक्षा (१-१०) सञ्चालन भएका विद्यालयलाई एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।


कक्षा ११ र १२ समेत सञ्चालन गर्ने विद्यालयले विद्यार्थी संख्याका आधारमा बढीमा ५० हजार रुपैयाँसम्मको थप गरी कोचिङ कक्षा सञ्चालन परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्तावमा कोचिङ कक्षा सञ्चालन समयावधि, विद्यार्थी संख्या, परिचालित शिक्षक संख्या, शिक्षक पारिश्रमिक र आवश्यक शैक्षिक सामग्रीसहितको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ । तोकिएको समयभित्र प्रस्ताव पेस नगर्ने विद्यालयलाई कोचिङ कक्षाबापतको अनुदान रकम उपलब्ध नगराइने गाउँपालिकाले जनाएको छ ।

 

कोरोनाका कारण लामो समयसम्म विद्यालय जान नसकी पढाइ अधुरै रहेका विद्यार्थीलाई चालू शैक्षिक सत्रभित्रै कोर्षअनुसारको पढाइ सम्पन्न गर्न पालिकाभित्रका विद्यालयलाई तहगत रूपमा अनुदान उपलब्ध गराइन लागेको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए ।


‘कोरोना सन्त्रासका कारण पठनपाठनमा समस्या सिर्जना भएका विद्यार्थीलाई सबै सुरक्षाका उपाय अवलम्बन गरे अतिरिक्त (कोचिङ) कक्षा सञ्चालनका लागि पालिकाले रकम विनियोजन गर्छ’, अध्यक्ष लिम्बूले भने, ‘यस्तो रकम गाउँपालिकाले चालू आवका लागि विनियोजित बजेट तथा कार्यक्रममा समावेश भएको छ ।’


अनुदान रकम लैजाने विद्यालयको कोचिङ कक्षा सञ्चालन तथा यसको प्रभावकारिता अनुगमन गर्न पालिका प्रशासनले अनुगमन कार्यदलसमेत बनाएको छ । शिक्षा अधिकृत संयोजकत्वको अनुगमन समितिमा पालिकाभित्रका नेतृत्वकर्ता, विद्यालयका प्रधानाध्यापक र गाउँ शिक्षा समितिले चयन गरेका शिक्षक गरी तीन जनाको समिति रहनेछ ।

 

समितिले अनुगमन गरी दिएको प्रतिवेदन र प्रभावकारिताको आधारमा आगामी वर्ष थप अनुदान दिने वा कटौती गर्ने भन्ने विषय निर्क्याेल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए ।

 

‘कोचिङ कक्षा सञ्चालनका लागि दिएको अनुदान विद्यालयले कक्षामा खटिने शिक्षकलाई प्रोत्साहन रकम वितरणमा खर्च गर्न सक्छन् । त्यस्तो रकमको बिल भर्पाइ फर्छ्याेट गर्ने दायित्व सम्बन्धित विद्यालयको हुनेछ’, अधिकृत श्रेष्ठले भने ।

 

अघिल्लो आर्थिक वर्षदेखि सुरु भएको कोचिङ कक्षा सञ्चालनसम्बन्धी योजना यस वर्ष कोरोना सन्त्रासका कारण लामो समय पढाइ गुमाएका विद्यार्थीका लागि फलदायी हुने अपेक्षा गाउँपालिकाको रहेको उनले बताए ।