close

जुम्लाका पालिकामा धमाधम सामुदायिक भवन बन्दै

जुम्लाका पालिकामा धमाधम सामुदायिक भवन बन्दै

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाका स्थानीय तहले हरेक वडाका गाउँबस्तीमा सडक पुर्‍याउनुका साथ खानेपानी, पूर्वाधार विकासका भौतिक संरचना भवन निर्माणमा जोड दिएका छन्  । विकास साझेदार संस्था गैरसरकारी निकायसँग समन्वय गरी गाउँगाउँमा पक्की  भौतिक संरचना थपिन थालेका हुन् । 


यहाँका तीन स्थानीय तहमा करोडौंको लागतमा समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ चार सामुदायिक सेवा भवन निर्माण थालिएको छ । व्यावसायिक प्रयोजन, सामुहिक छलफल कक्ष, सुविधासम्पन्न तालिम हल, कफी सेन्टर, कोसेली घरसहितको नमुना पक्की भवन निर्माण हुन थालेका हुन् ।


विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको प्राविधिक सहयोगमा जिल्लाका तीन स्थानीय तहमा चार नमुना सामुदायिक सेवा भवन निर्माण थालिएको छ । एक करोड लागतमा तातोपानी गाउँपालिका-३ पालिकाको केन्द्र लिताकोटमा,  एक करोड ३९ लाखमा तिला गाउँपालिका- ९ मानेचौरमा, एक करोडमा तिला- २ पातरसाँघुमा भवन निर्माण सुरु भएको छ । हिमा गाउँपालिकामा एक करोडको लागतमा निर्माण हुने भवनका लागि जग्गा टुंगो नलागेका कारण रोकिएको छ । 


केही दिनभित्रै जग्गा टुंगो लागेपछि निर्माण सुरु गर्ने तयारी छ । चार भवन चार करोड २९ लाखमा निर्माण हुन थालेका हुन् । समुदायमा उपयुक्त ठाउँ र लगानी अभावमा उद्यम गर्न चाहने युवा पनि खुम्चिएका छन् । अर्गानिक रैथाने अन्नबाली कोसेली घर नहुँदा घरमै कुहिएको छ ।

 
‘दुर्गम गाउँघरका भौतिक संरचना बनाउन, युवालाई उद्यमशीलतातर्फ लैजान, रैथाने बालीको प्रवर्द्धन गर्न, ग्रामीण पर्यटन प्रवर्द्धनलगायतका बहुउद्देश्यीय लक्ष्यका साथ चार करोड ३९ लाखको लागतमा चार सामुदायिक सेवा भवन निर्माण गर्न थालिएको छ’, पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले भने ।


तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले पालिकासँग लगानी गर्न बजेट अपुग भए पनि विकास साझेदार संस्था पेस नेपाल जुम्लासँग समस्य गरी भौतिक संरचना निर्माण गर्न थालिएको बताए । उनले भने, ‘यसले समुदायमा उद्यमी बन्न चाहने युवाहरूलाई पनि सहयोग  पुग्नेछ । सर्वसाधारणको हितका लागि सामुदायिक भवन प्रयोग हुनेछ’, अध्यक्ष योगीले भने, ‘मझौला उद्योग सञ्चालन गर्न सकिने क्षमताको सोलार पावरसमेत जडान हुनेछ ।’


संरचना निर्माणपछि सामुदायिक सेवा भवनलाई व्यावसायिक प्रयोजनका लागि  किसानले प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।


तातोपानी वडा-३ का वडाध्यक्ष डिल्ली रावल पेस नेपालले पालिकाको पूर्वाधार विकासमा इँट्टा थपेको बताउँछन् । उनले भने, ‘भर्खर पालिका भवन निर्माणका लागि जग्गा पास गरेका थियांै । सुरुमै विकास साझेदार निकायबाट डेढ करोडमा पक्की भवन बन्दै छ । साढे दुई तलाको भवनमा व्यावसायिकदेखि कार्यालय प्रयोजनमा प्रयोग गर्न सकिनेछ ।’

 

विकास साझेदार निकायले अन्यत्रभन्दा पूर्वाधार विकासका क्षेत्रमा लगानी गरे जिल्लाको  विकास निर्माणले गति लिने वडाध्यक्ष रावल बताउँछन् ।