close

दिप्रुङले सुरु गर्‍यो कक्षा ११ को परीक्षा 

दिप्रुङले सुरु गर्‍यो कक्षा ११ को परीक्षा 

Trulli
ADVERTISEMENT

खोटाङ - कोरोना भाइरसका कारण अधिकांश पठनपाठन एवं परीक्षा ठप्प भएको अवस्थामा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा आफैँ संचालन गरेको छ । 


मुलुकभर कक्षा ११ को परीक्षा लामो समयदेखि अवरुद्ध रहेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका स्तरीय प्रश्नपत्र तयार पारेर आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको हो । कोरोना भाइरसका कारण कक्षा ११ को परीक्षा संचालन हुन नसकिरहेको अवस्थामा करिव महिना दिनअघि क्याविनेटले स्थानीय तहसँग समन्वय गरेर अवरुद्ध परीक्षा संचालन गर्न सक्ने निर्णय गरेर कार्यविधि पठाएको आधारमा परीक्षा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । 


संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहको भएकाले पनि कक्षा ११ को अवरुद्ध परीक्षा गराउन गाउँपालिका आफैँ अग्रसर भएको हो । 


संघीय सरकारबाट प्राप्त भएको कार्यविधिअनुसार गाउँपालिकाभित्रका पाँचवटा उच्चमाविको संयुक्त बैठकको निर्णयअनुसार कक्षा ११ को परीक्षा सुरु गरिएको हो । गाउँपालिकामा कक्षा ११ को परीक्षा आगामी २८ कात्तिकसम्म संचालन हुने अध्यक्ष राईले बताए । गाउँपालिकाले सुरु गरेको कक्षा ११ को परीक्षामा पाँच उच्चमाविका २८३ परीक्षार्थीमध्ये २४६ परीक्षार्थी सहभागी भएका छन् । 


कोडिङ र डिकोडिङका आधारमा गाउँपालिकामै उत्तर पुस्तिका जाँच गर्ने र नतिजा प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ । सम्परीक्षणका लागि भने परीक्षार्थीको उत्तर पुस्तिका पठाइने गाउँपालिका अध्यक्ष राईले बताए । 


‘हालसम्म कक्षा ११ को परीक्षा संघीय सरकारले नै संचालन गर्दै आएको थियो तर माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थाको जिम्मा स्थानीय सरकारकै हातमा छ । कोभिडका कारण परीक्षा संचालन हुन नसकेको अवस्थामा स्थानीय तहले परीक्षा संचालन गर्न सक्ने कार्यविधि प्राप्त भएपछि परीक्षा सुरु गरेका हौँ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यार्थीको कापी यहीँ चेक हुन्छ । कोडिङ डिकोडिङका आधारमा रिजल्ट यहीँ तयार हुन्छ । सम्परीक्षणका लागि मात्र उत्तर पुस्तिका पठाउने तयारी गरेका छौँ ।’


गाउँपालिकामा कक्षा ११ को परीक्षा संचालनका लागि गाउँपालिकाले एकै किसिमका प्रश्नपत्र तयार पारेको छ । महेन्द्रोदय माविका ९१ जना विद्यार्थीमध्ये छ जना, कृष्ण मावि टेम्माका ५१ जनामध्ये सात जना, सरस्वती मावि डाँडाखर्कका ५९ जनामध्ये सात जना, शान्ति मावि छोरम्बुका ६५ जनामध्ये १० जना र जनता मावि बतासेका १७ जनामध्ये सात जना परीक्षार्थी अनुपस्थित भएका छन् ।