close

तीन वर्षमा बन्नुपर्ने बुटवल-बेलहिया सडक आठ वर्षसम्म अधुरो

नगरप्रमुख सुवेदी भन्छन् : फैसला आएपछि आफैं डोजर चलाउँछु

तीन वर्षमा बन्नुपर्ने बुटवल-बेलहिया सडक आठ वर्षसम्म अधुरो

नगरप्रमुख सुवेदी भन्छन् : फैसला आएपछि आफैं डोजर चलाउँछु

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिका हुँदै सिद्धार्थ नगरपालिको बेलहियासम्म निर्माणाधीन ‘सिक्स लेन सडक’ आठ वर्षसम्म पूरा हुन सकेको छैन । यो काठमाडौं उपत्यकाबाहिरको पहिलो छ लेन सडक हो ।


तीन वर्षभित्र सक्ने गरी काम थालिएको २७ किलोमिटर यस सडकको निर्माण सम्पन्न हुने मिति अहिलेसम्म टुंगो लागेको छैन । सडकले भारतसँगको दोसो ठूलो नाका सुनौलीबाट पूर्व-पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ ।


तीन वर्षमा सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण आयोजना आठ वर्षसम्म काम गर्दा पनि अझै आठ प्रतिशत अधुरै छ । समयमै काम पूरा नहुँदा निर्माण सकिएको क्षेत्रमा पनि सडक सौन्दर्य  हराउँदै गएको छ ।


प्रदेशकै आर्थिक ढोकाको रूपमा हेरिएको आयोजना पूरा नहुँदा निजी क्षेत्र रुष्ट छ । बुटवल-बेलहिया आयोजना प्रमुख जयलाल मरासिनी ९२ प्रतिशत काम सकिएको बताउँछन् । चालू आर्थिक वर्षभित्रै सडक निर्माण सकिने उनको भनाइ छ ।


करिब पाँच अर्ब ९२ करोड रुपैयाँ लागतमा निर्माणाधीन बेलहिया-बुटवल सडक खण्डको हालसम्म करिब २५ किलोमिटर निर्माण पूरा भएको छ भने ३.७५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । बुटवलको राजमार्ग चौराहादेखि भैरहवासम्म सडक निर्माण सम्पन्न भएको छ ।


बुटवल बजार क्षेत्र (चौराहा गोलपार्क)सम्मको सडक विस्तारको काम अगाडि बढ्न सकेको छैन । बेलहिया नाकादेखि बाइपाससम्म करिब ७५० मिटर सडक खण्ड पनि अलपत्र छ । मरासिनीले भने, ‘बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकाले हामीले फैसला वा आदेश कुरेका छौँ । अन्य क्षेत्रको बाँकी काम अब तीब्र रूपमा अगाडि बढ्छ ।’


सडक निर्माण पूरा नहुँदै मर्मतका लागि तीन करोड ५० लाख रुपैयाँ खर्च भएको छ । बनिसकेको सडक क्षेत्रका ठाउँठाउँमा बिग्रिँदा तीन वर्षमा तीन करोड ३० लाख रुपैयाँ खर्च भएको आयोजनाकी इन्जिनियर शुभेच्छा सारुले जानकारी दिइन् ।


बेलहियादेखि भैरहवासम्म धेरै ठाउँमा सडक बिग्रिएको छ । भारतबाट सडकको क्षमताभन्दा बढी भार वहनका गाडी भित्रिँदा सडक कतै भासिने, कतै उखाडबखाड भएको छ । काम गर्न बाँकी क्षेत्रमा निर्माण कम्पनीलाई अगाडि बढाउन निर्देशन दिएको मरासिनीले बताए ।


सडक निर्माण हुँदा यो सडक तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तर, पछाडि यसलाई बढाउँदै लगेर ११ भागमा ठेक्का लगाइयो । यी विभिन्न समयमा लगाइएका ठेक्का हुन् ।


भैरहवा दरखसवादेखि बुद्धचोकसम्म २.६ किलोमिटर, बेलहिया बाइपासदेखि डन्डा पुलसम्म ७५० मिटर,  तिलोत्तमा जानकीनगरदेखि बुटवल चौराहासम्म तीन किलोमिटर, डन्डा पुलदेखि दरखसवा र बुद्धचोकदेखि अञ्चलपुरसम्म २.१ किलोमिटर, मणिग्रामदेखि जानकीनगरसम्म तीन किलोमिटर, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.५ किलोमिटरमा भाग लगाइयो ।


मणिग्रामदेखि सुनैनापथसम्मको तीन किलोमिटर र मधवलियादेखि लखनचोकसम्म तीन किलोमिटर गरी छ किलोमिटर सडक टेलिकम इन्डिया लिमिटेड (टीसीआईएल)ले एक अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको छ । तर, सामान्य मर्मतका बाँकी रहेको आयोजना इन्जिनियर शुभेच्छा सारुले बताइन् ।


‘हामीले काममा ढिलाइ गर्ने ठेकेदारसँग पटकपटक ताकेता गर्दै आएका छौँ । अबको छ महिनामा देखिने गरी काम हुन्छ । यदि काम सकिएन भने टेन्डर तोडेर अर्कोबाट काम गराउनेछौँ’, मरासिनीले भने ।  


बुटवल-बेलहिया सडक निर्माणको गुणस्तरमाथि पटकपटक प्रश्न उठ्दै आएको छ । निर्माण सम्पन्न नहुँदै भैरहवाको आँखा अस्पताल अगाडि सडक भत्किएपछि हालै मात्र त्यहाँ पुनः पिच गरिएको छ ।


बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवलकोे राजमार्ग चौराहादेखि गोलपार्कसम्म तीन किलोमिटर सडक अदालतमा स्थानीयले अवरोध गरेर मुद्दा दायर गरेपछि फैसला कुरेको बताउँछन् ।


‘हामीले उपमहानगरबाट दुई वकिललाई पनि मुद्दाबारे बहस गर्न राखेका छाैँ । बुटवल कुरूप बनाउने र सडकलाई अवरुद्ध बनाउने कार्य हामीलाई मान्य हुँदैन । भित्री सडक राम्रा छन्’, प्रमुख सुवेदीले भने ।


मुद्दा फैसला भएपछि व्यापारीले अवरोध गरे आफैँ डोजर चलाएर सडक विस्तारमा लाग्ने उपमहानगर प्रमुख सुवेदी बताउँछन् । ‘बुटवल उपमहानगर यस विषयमा संवेदनशील छ । अब अवरोध गर्नेलाई तह लगाएर सडक निर्माण अघि बढाउँछौँ’, प्रमुख सुवेदीले भने ।