close

खिजीदेम्बाका विद्यालय संचालन गर्न निर्देशिका जारी, सबै विद्यालयमा पुग्याे स्वास्थ्य सुरक्षा सामग्री

खिजीदेम्बाका विद्यालय संचालन गर्न निर्देशिका जारी, सबै विद्यालयमा पुग्याे स्वास्थ्य सुरक्षा सामग्री

Trulli
ADVERTISEMENT

ओखलढुंगा -  खिजीदेम्बा गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरेर विद्यालय संचालनको तयारी गरेको छ । संघीय शिक्षा मन्त्रालयले स्थानीय तहलाई विद्यालय संचालन गर्ने अधिकार दिएसँगै कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका विद्यालय खुलाउने तयारी गरेको हो ।


गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय संचालनसम्बन्धी कार्य ढाँचा,  २०७७ का आधारमा विद्यालय तथा शिक्षण संस्था संचालनसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ । उक्त निर्देशिकामा स्वास्थ्य सुरक्षाका मापदण्ड तथा कक्षा संचालनका आधारहरू तोकिएका छन् । 


ती मापदण्डका आधारमा विद्यालय तथा कक्षा संचालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए । पौडेलका अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गरेर कक्षा संचालन गर्न परिपत्र गरिएको छ । गाउँपालिकाले विद्यालय संचालन गर्दा स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्रीसमेत खरिद गरेर उपलब्ध गराएको छ । 


स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरूलाई सामग्री उपलब्ध गराउने जनाएको छ । यसबीचमा अधिकांश विद्यालयले सामग्री बुझिसकेको र बाँकीले गाउँपालिकामा आएर बुझ्नुपर्ने गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । उनका अनुसार विद्यालयहरूलाई थर्मल गन, स्प्रेयर, हाइपोलिक्लोराइड लिक्विड, स्यानिटाइजर, मास्क तथा पञ्जा र प्राथमिक उपचार बाकस उपलब्ध गराइएको छ । 


१० मंसिरदेखि विद्यालयमा अनिवार्य मास्कको प्रयोग, दूरी कायम गरी कक्षा संचालन तथा पठनपानको कार्य अघि बढाउने गरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरूलाई परिपत्रसमेत गरेको छ ।


यसअघि चिशंखुगढी र सिद्धिचरण नगरपालिकाले विद्यालय संचालन गरेका छन् । ती तहमा आलोपालो तथा जोरबिजोर प्रणालीमा विद्यालय संचालन तथा पठानपाठन, परीक्षा संचालनका काम भइरहेका छन् । 


यस्तै, सिद्धिचरण नगरपालिकामा रहेको ओखलढुंगा क्याम्पस ओखलढुंगाले पनि स्नातक र स्नातकोत्तर तहको कक्षा संचालन गरेको छ । समुदायले संचालन गरेको उक्त क्याम्पसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना, मास्क तथा स्यानिटाइजर अनिवार्य गरेर कक्षा सुरु गरिएको क्याम्पस प्रमुख सुमन राजभण्डारीले जानकारी दिए ।