close

कृषक अल्छे भएपछि झिमरुकमा आलु पाठशाला

कृषक अल्छे भएपछि झिमरुकमा आलु पाठशाला

Trulli
ADVERTISEMENT

प्युठान– प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र नजिकै वडा–४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए ।

 

अघिल्लो वर्षमा अढाई रोपनीमा सञ्चालन गरिएको फर्म यस वर्ष ४ रोपनीमा विस्तार गरिएको उनले बताए । ‘पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफंै जग्गा लिजमा लिई प्रयोगका रुपमा  खेती गरेका हौं’, उनले भने, ‘तालिम धेरै पटक दिए पनि किसानले खासै उत्साह देखाएनन् ।’

 

प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषिलाई पेसा व्यवसाय बनाएका कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।


गाउँमा तरकारी उत्पादन नहुँदा बाहिरबाट किनेर खानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले कृषि प्रदर्शनी तथा तालिम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

 

प्रदर्शनी केन्द्रमा हाल गोलभेडा, च्याउ, आलु, गाजर, धनियाँ, भान्टा, मूलालगायत तरकारी उत्पादन भइरहेका छन् ।


हाललाई प्याज र गोबीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नासमेत राखिने कृषि शाखा प्रमुख विकले जानकारी दिए ।

 

गाउँमा उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हुँदै आएको छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि चार लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा दुई लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बताए ।

 

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा तरकारी बिक्री ९४ हजार ५ सय र चालू आर्थिक वर्षको हालसम्म करिब ३५ हजार बराबरको बिक्री भएको छ ।

 

‘तरकारी बिक्रीबाट आएको  रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र दुई सय सात कृषि समूह तथा कृषि तथा पशुपक्षी फर्म छन् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिँदै आएको छ’, अध्यक्ष जिसीले भने ।

 
साप्ताहिक पाठशाला सञ्चालन


पालिकाको कृषि शाखाले हाल साप्ताहिक आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउन पाठशाला सञ्चालन गरिएको हो ।

 

पाठशालामा सक्रिय कृषक पाठशालाका २५ सदस्यहरू सहभागी भएका छन् । प्रत्येक साता चल्ने प्रदर्शनीमा सहभागी भएपछि आलु उत्पादन बढाउन सहयोग मिलेको समूहकी अध्यक्ष भेषा पोख्रेलले बताइन् । आलु पाठशाला १६ सातासम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।