close

मौवाफाँटमा पुल बनेपछि दुई गाँउ जाेडिए, दुई घन्टा बाटाे पनि छोट्टियो

मौवाफाँटमा पुल बनेपछि दुई गाँउ जाेडिए, दुई घन्टा बाटाे पनि छोट्टियो

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिकाको दुई वडालाई पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । रघुगंगा-४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुल निर्माण भएपछि राहुघाट जलविद्युत् आयोजनाको बाँध, झिँ र पाखापानीको वडा गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सडक सञ्जालमा जोडिएका हुन् । 

 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाएको हो । 

 

राहुघाट नदीको दायाँ र बायाँ भागमा पक्की पर्खालसहित ट्रस जोडेर बनाइएको उक्त  पुल ३.५ मिटर चौडाइको छ । ४० टन भारवहन क्षमताको पुल निर्माणमा दुई करोड ५० लाख रुपैयाँ खर्च भएको जेपीका इञ्जिनियर जितेन्द्र सिंहले बताए । 

 

‘दुई वर्षअघि सुरु भएको पुल निर्माण सकिएपछि राहुघाटको बाँध निर्माण स्थलसम्म गाडी र ढुवानीका साधन सहज रुपमा आउजाउ गर्न थालेका छन्,’ उनले भने, ‘हामीलाई बाँध क्षेत्रमा काम गर्न जान एवं रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीका बासिन्दालाई पनि सुविधा पुगेको छ ।’

 

बेनी-जोमसोम सडकअन्तर्गत घुमाउनेतालदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । पुल नहुँदा बाँधसम्म यातायातको पहुँच थिएन । आयोजनाले २० लाख रुपैयाँ खर्चेर झिँदेखि बुक्ल जोड्ने सात किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । 

 

बर्खामा पहिरोले बिगारेको सडक मर्मत गरेपछि झिँ र पाखापानीका बासिन्दाले गाउँपालिकाको केन्द्र मौवाफाँट आउजाउका लागि छिटो र सहज हुने स्थानीय मीनबहादुर रोकाले बताए ।

 

‘एक हजारभन्दा बढी घरधुरी भएका दुई वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालमा जोडिएका छन्,’ उनले भने, ‘मौवाफाँट आउजाउ गर्न बेनी पुगेर दुई घन्टाको घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ ।’

 

झिँ-बुग्ल सडक मर्मत, स्तरोन्नतिसँगै पाखापानीको औला हुँदै राहुघाटको बाँध जोड्ने अर्को सडक पनि निर्माण गरिने रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

 

२०७४ मंसिरमा ठेक्का सम्झौता, २०७५ असारमा परिचालन र २०७६ असारमा सुरुङ निर्माण सुरु भएको राहुघाट जलविद्युत् आयोजनाको हालसम्मको भौतिक प्रगति करिब ३० प्रतिशत छ । 

 

राहुघाट विद्युत् आयोजना निर्माण धमाधम

 

कोरोना महामारी, बन्दाबन्दी, प्राकृतिक विपद् र चाडपर्वको समयमा पनि नरोकिएको आयोजनाको तीन वटा अडिट सकेर पाँच सय मिटर मुख्य सुरुङ खनिएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । 


‘पिप्लेमा सर्च साफ्ट र तिल्केनीचौरमा विद्युत्गृहको काम गरिरहेको ठेकेदारले पहिलो नम्बरको अडिटबाट सुरुङसँगै बाँध निर्माण सुरु गर्ने तयारी गरेको छ,’ उनले भने, ‘बुग्लमा पुल बनेपछि बाँधसम्म आउजाउ र ढुवानी सहज भई निर्माणले थप तीव्रता पाउँछ ।’

 

सिभिल ठेकेदारका पाँच सय मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् । ५ मंसिर २०७४ मा ६ अर्ब रुपैयाँमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले २०७५ असारमा पहुँच मार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । 


यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युतगृह र बाँध निर्माण स्थल रघुगंगा हो । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो । 


४५ महिने ठेक्का अवधि रहेको आयोजनाको ६ किलोमिटर दुई सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहनेछ । एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । 


कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्याक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो । २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रो विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।


अर्धजलाशययुक्त प्रविधिको बाँध रहने आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।     


२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि ७ असार २०७६ बाट सुरु भएको थियो । राहुघाट जलविद्युत् आयोजनामा उत्पादन हुने विद्युत् नजिकै निर्माण हुन लागेको राहुघाट सबस्टेसनबाट केन्द्रीय लाइनमा जोड्ने योजना छ ।