close

म्याग्दीका अधिकांश विद्यालय खुले, रुपन्देही र मन्थली पनि पढाउने तरखरमा

म्याग्दीका अधिकांश विद्यालय खुले, रुपन्देही र मन्थली पनि पढाउने तरखरमा

Trulli
ADVERTISEMENT

जिल्ला व्युरो/काठमाडौं

कोरोना भाइरसको जोखिमका कारण आठ महिनादेखि बन्द भएका देशभरका विद्यालयहरु धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिम कम भएका स्थानीय तहले धमाधम निर्णय गर्दै सावधानीसहित विद्यालय खोल्न भनेका छन् ।


म्याग्दीमा अधिकांश खुल्यो


सरकारको विद्यालय सञ्चालन गर्ने निर्णय र स्थानीय तहको अनुमति पाएपछि म्याग्दी जिल्लाका अधिकांशले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिद्यालय खुलाएका हुन् ।


सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय सरकारले तय गरेका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरिएको विद्यालयहरुले जनाएका छन् । यसै हप्तादेखि औपचारिक रुपमा विद्यालयमा पढाइ सुरु भएको छ ।

 

विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पठनपाठन सुरु गरेका बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताए । मालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार त्यहाँका बिद्यालय पनि यसै हप्तादेखि सञ्चालनमा आएका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

 

रघुगंगा गाउँपालिकाले शनिबार बाहेकका सार्वजनिक बिदामा समेत पठनपाठन गराउने निर्णय गरेको शिक्षा अधिकृत कृष्ण सुवेदीले बताए । अन्नपूर्ण, धवलागिरी र मंगला गाउँपालिकाका बिद्यालयमा पनि पठनपाठन सुरु भएको छ ।

 

अन्नपूर्ण गाउँपालिकाको शिख माविका प्रधानअध्यापक केदार कार्कीले धेरै विद्यार्थी भएका कक्षामा आलोपालो र थोरै भएकामा विगत अनुसारनै विद्यालयमा बोलाएर पठनपाठन सुरु गरिएको बताए ।

 

कोरोनाको जोखिम नभएका धवलागिरी गाउँपालिकाको गुर्जा स्थित जनविकास मावि र अन्नपूर्ण गाउँपालिकाको नांगी स्थित हिमाञ्चल माविमा भने यसअघि नै नियमित पठनपाठन सञ्चालन भएको थियो ।

 

शिक्षक विद्यार्थीले अनिवार्य मास्क लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने, बिद्यालय छिर्नुअघि ज्यरो नाप्ने र दुरी कायम गरेर बसाई व्यवस्थापन गरिएको छ । धेरै विद्यार्थी संख्या भएका विद्यालयलाई दुई समूह बनाएर पढाउन थालेका छन् ।

 

म्याग्दीमा २३२ वटा सामुदायिक र २८ वटा संस्थागत विद्यालय छन् । कक्षा १० सम्म करिब ३० हजार विद्यार्थी छन् ।

     
रुपन्देहीमा पनि खुल्दै


रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्रका विद्यालयहरूमा १० मंसिरदेखि पढाइ सुरु हुने भएको छ । नगरपालिकामा मंगलबार बसेको शिक्षा समितिको बैठकले १० मंसिरदेखि विद्यालयमा पढाइ सुरु गर्ने सहमति जुटेको हो ।


नगरपालिकाको बैठकले विद्यालयहरूलाई सुरक्षित तवरमा सञ्चालनमा ल्याइ सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको नगर शिक्षा समिति अध्यक्ष तथा नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।


विद्यालयमा पढाइ जारी रहेकै बेला कुनै विद्यार्थीलाई कोरोना लक्षण देखिए नगरपालिकाको स्वास्थ्य शाखामा समन्वय तथा सम्पर्क गर्न नगरले आग्रह गरेको छ ।

बैठकले बस सञ्चालन गर्ने विद्यालयहरूले बस भाडाबापत लिने मासिक शुल्कलाई विद्यार्थी बस चढेको दिनलाई मात्र गणना गरेर लिन पाइने निर्णय गरेको छ ।

 

विद्यालय खुलाउँदै मन्थली

 

रामेछाप सदरमुकाम मन्थली नगरपालिकाभित्रका विद्यालयहरू पनि खुल्ने भएका छन् ।


मन्थली नगरपालिका र सरोकारवालाबीचको छलफलपछि स्वास्थ्य सुरक्षा अपनाएर बन्द विद्यालय खुलाउने निर्णय भएको हो ।


‘साढे सात महिनादेखि ठप्प रहेका विद्यालय खोल्ने निर्णय गरेर नियमित रुपमा पाठनपाठनको तयारी गरेका छौं’, मन्थली नगरप्रमुख रमेशकुमार बस्नेतले भने, ‘हजारौं विद्यार्थीको भविष्यलाई ख्याल गर्दै उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर विद्यालय खोल्न लागेका हौं । केही दिनभित्रै नगरका सबै विद्यालय खुल्नछन्  ।’


कुनै विद्यार्थीलाई ज्वरो आए, रुघाखोकी लागे वा स्वास्थ्यमा कुनै समस्या देखिए विद्यालय नआउन र अभिभावकलाई पनि आफ्ना बालबच्चालाई विद्यालय नपठाउन आग्रह गरिने नगरप्रमुख बस्नेतले बताए ।


१४ वडा रहेको मन्थलीमा सामुदायिक र निजी गरी ७४ विद्यालयका करिब १२ हजार विद्यार्थीको पठनपाठन ठप्प थियो ।