close

बझाङका २१ ठाउँबाट फोरजी सेवा विस्तार गर्दै नेपाल टेलिकम

बझाङका २१ ठाउँबाट फोरजी सेवा विस्तार गर्दै नेपाल टेलिकम

Trulli
ADVERTISEMENT

बझाङ - बझाङका २१ ठाउँबाट फोरजी सेवा विस्तार गर्ने नेपाल टेलिकमको योजना छ । हाल आठ ठाउँबाट फोरजी सेवा विस्तार गरिसकेको जनाएको नेपाल टेलिकमले अझै १३ ठाउँमा सेवा सुरु गर्ने बताएको छ । 


बझाङमा फोरजी सेवा सूचारु गरे पनि विद्युत अभावको समस्याले इन्टरनेटदेखि फोन सेवासम्म प्रभावित हुन सक्ने देखिएको छ ।


फोरजीले फोन सेवा, टुजी, थ्रीजी सेवाभन्दा दुई गुणा बढी विद्युत खपत गर्ने हुँदा समस्या हुने देखिएको हो । जिल्लाका चैनपुर, देउलेख, दहबगर, देउलीकोट, लेकगाउँ, हेमन्तवाडा, मनाना र माझीगाउँमा फोरजी सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । 


यस्तै, कँडेल, मौलाली, रिलु, दौलीचौर, पाराकाट्नेमा १० देखि १५ दिनसम्म फोरजी सेवा सुचारु गर्ने तयारी रहेको नेपाल टेलिकम प्रधान कार्यालय बबरमहलका इन्जिनियर निर्मल चटौतले बताए ।
 

उनका अनुसार बाँकी रहेका स्युँकोट, बुंगल, छान्ना, भातेखोला, काँडा, तल्कोटको दुई ठाउँमा दुई महिना बढी समय लाग्ने देखिएको छ । बझाङ अहिले सबैभन्दा चैनपुर र रिलुमा रहेको टावरमा विद्युत क्षमता छ । यहाँ विद्युत सेवा बन्द भएको वा घाम नलागेको एक हप्तासम्म काम गर्ने क्षमता छ भने अन्य ठाउँमा कम रहेको छ ।


फोरजी सेवासँगै सोलार क्षमता पनि थप्ने तयारी भइरहेको नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाका निर्देशक नमाकर न्यौपानेले बताए । उनका अनुसार यस वर्ष फोरजी सेवा सुचारु भए पनि आउँदो वर्षबाट सबै ठाउँमा विद्युत थपेपछि सेवा गुणस्तरीय हुनेछ । 


हाल बझाङमा बैतडीको श्रीभावरबाट सिधै बान्तालेक रुटमा फोरजी सेवा चलिरहेको छ भने श्रीभावर, केदार, बान्तालेक रुटमा टुजी, थ्रीजी र फोन सेवा चलिरहेका छन् । बान्तालेकमा फोरजी सेवाको रिपिटर हुँदा अझै विद्युत क्षमता थप्नुपर्ने टेलिकमले बताएको छ ।

 
टेलिकमलाई पर्खिरहेका स्थानीय तह


बझाङका धेरैजसो स्थानीय तहहरूमा इन्टरनेट नहुँदा सदरमुकाममा बसिरहेका छन्, जसले गर्दा स्थानीयले सेवा लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यता छ । अहिले इन्टरनेट नहुँदा साइपाल, सुर्मा, तल्कोट, मष्टा, केदारस्युँ, थलारा गाउँपालिका सदरमुकामबाटै सेवा दिइरहेका छन् । इन्टरनेट नहुँदा बजेट, योजनाका काम प्रभावित हुने गरेको यी स्थानीय तहहरू बताउँछन् । 


‘गाउँगाउँमा सिंहदरबार’ नारा इन्टरनेटले पनि प्रभावित बनेको जनप्रतिनिधिको भनाइ छ । नेपाल टेलिकमले सबै स्थानीय तहमा फोरजी सेवा भरपर्दो रूपमा विस्तार गर्न सके गाउँपालिका कार्यालयबाटै सेवा प्रदान गर्न आफूहरू तयार रहेको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । 


उनले भने, ‘चैनपुरमा पनि एडीएसएल इन्टरनेट त्यति गतिलो छैन । हामी मोबाइलमा फोरजी प्याक लिएर हटस्पट अन गरी वाईफाईको रूपमा काम चलाउँदै आएका छौंँ । गाउँपालिकामा पनि यति भए पुगिहाल्यो ।’


उता, साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले पनि कहिले गाउँपालिका त कहिले चैनपुर गर्दागर्दै आफूहरू थाकेको बताए । सदरमुकामबाट तीन दिन पैदल हिँडेर साइपाल गाउँपालिकाको कार्यालय काँडा पुग्नुपर्ने अवस्था छ । उनले भने, ‘हामी त तलमाथि गरिरहन्छौँ तर कर्मचारी इन्टरनेटलगायतका सुविधा खोज्छन् । कहिल्यै कार्यालय जान मान्दैनन् ।’


विद्युत नहुँदा फोन सेवा नै प्रभावकारी छैन


बझाङमा रहेका २१ वटा नेपाल टेलिकमका टावरमध्ये सदरमुकाम चैनपुर र हेमन्तवाडा चैनपुरमा मात्र विद्युत सेवा रहेको छ । जिल्ला अन्य १९ वटा टावरमा हाल सोलार प्रविधिले फोन सेवा विस्तार गरिएको छ । अग्लाअग्ला डाँडामा राखिएका टावरहरूमा कहिले घाम नलाग्ने, कहिले सानो अवरोध हुँदा समयमै टेलिकमका कर्मचारी जान नमान्ने गरेका कारण बझाङमा मोबाइल र ल्यान्डलाइन फोन सेवा प्रभावित हुँदै आएको छ । 


त्यस्तै, ठाउँठाउँमा राखिएका टावरहरूले थोरै ग्राहकलाई मात्र समेट्ने, निश्चित क्षेत्रमा मात्र काम गर्ने हुँदा अझै जिल्लाका सबै गाउँ ठाउँमा फोन सेवा पुगेको देखिँदैन । 


नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाका निर्देशक न्यौपानेका अनुसार बझाङमा फोरजी सेवा विस्तारसँगै सोलार क्षमता थप्ने योजना नेपाल टेलिकम केन्द्रीय कार्यालय बबरमहलको छ ।