close

बेली ब्रिजले जाेड्दै खोटाङ र उदयपुर

बेली ब्रिजले जाेड्दै खोटाङ र उदयपुर

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेली ब्रिज जडान सुरु गरिएको छ । दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका- ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका- ५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेली ब्रिज जडान सुरु गरिएको हो । 


गाईघाट-दिक्तेल सडक आयोजनाको करिब ८४ लाख रुपैयाँमा पूरा गर्नेगरी रेग्मी निर्माण सेवा गाईघाटले ५ मंसिरेदेखि अस्थायी बेली ब्रिज जडानको काम सुरु गरेको हो ।


आगामी २५-२६ मंसिरभित्र बेली ब्रिज जडानको काम पूरा गर्नेगरी काम भइरहेको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए । ‘हाल बेली ब्रिज राख्नका लागि फाउन्डेसनको काम भइरहेको छ । जालीको, माटो फिलिङको काम सकेर १७-१८ मंसिरदेखि मुख्य संरचनाको काम गर्ने तयारी छ’, खकुरेलले भने, ‘कुनै व्यवधान नआए २५-२६ मंसिरसम्ममा बेली ब्रिज संचालनमा ल्याउने लक्ष्य छ । अहिले तीब्र गतिमा काम भइरहेको छ ।’ 


बुधबार खकुरेल नेतृत्वको टोली बेली ब्रिज जडानको कामको निरीक्षण गर्न फोक्सिङटार पुगेको थियो । 


हिउँदभर संचालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेली ब्रिज जडान सुरु गरिएको हो । गत वर्ष मंसिर तेस्रो सातादेखि पुनः जडान गरिएको बेली ब्रिज गत वैशाखमा निकालिएको थियो । फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेली ब्रिज राख्ने गरिएको छ । 


फोक्सिङटारस्थित सुनकोसीको पक्की पुल दुई पटक म्याद गुज्रिँदासमेत पूरा हुन सकेको छैन । १०१ किलोमिटर लामो गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेली ब्रिज संचालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने दोस्रो र छोटो बाटो खुल्ने छ ।

 

अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बन्ने यातायात व्यवसायी बताउँछन् । 


पूर्वी शहर जोड्ने बाटोमा राखिएको बेली ब्रिजले सस्तो दरमा उपभोग्य सामान भित्रिने व्यवसायीको भनाइ छ । म्याद गुज्रेको वर्षौं बित्दासमेत पक्की पुलको पिलर ठड्याउने कामसमेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा विगत पाँच वर्षदेखि बेली ब्रिज राख्ने गरिएको छ । 


पक्की पुल निर्माण नहुँदा बेली ब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको करोडौँ रुपैयाँ खर्च भइरहेको छ । फोक्सिङटारमा पाँच वर्षअघिदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बाह्रैमास दिक्तेलबाट पूर्वी शहर आउजाउ गर्ने छोटो मार्ग खुल्नेछ ।