close

९ मध्ये ६ पालिकाले सके शिक्षक दरबन्दी मिलान

९ मध्ये ६ पालिकाले सके शिक्षक दरबन्दी मिलान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नौ स्थानीय रहेको ताप्लेजुङका छ स्थानीय तहले शिक्षक दरबन्दी मिलान पूरा गरेका छन् । फुङलिङ नगरपालिकासहित तीन स्थानीय तहले भने दरबन्दी मिलानको पूरा गर्न नसकेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

 

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार दरबन्दी मिलान पूरा गर्न बाँकी रहेका अन्यमा सिदिङ्वा र आठराई त्रिवेणी गाउँपालिका रहेका छन् ।

 

फुङलिङ नगरबाट ३० जना शिक्षक बाहिर जानुपर्ने भएकाले समायोजन प्रक्रियामा अन्योल देखिएको हुन सक्ने समन्वय इकाईका अधिकारी बताउँछन् ।

 

शिक्षक दरबन्दी मिलान गर्ने पहिलो पालिका बनेको पाथीभरा याङ्बरकपछि फक्ताङलुङ, आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र सिरिजंघा गाउँपालिकाले पनि समायोजन पूरा गरेका छन् ।

 

नगरपालिकाबाहेक अन्य गाउँपालिकाका हकमा पालिकाभित्रकै एक विद्यालयबाट अर्को विद्यालयमा मिलान भए पुग्ने अवस्था छ । फुङ्लिङबाट भने ३०  शिक्षक दरबन्दी अन्यत्र मिलान गर्नुपर्ने भएकाले दरबन्दी मिलान गर्न नगर शिक्षा समितिलाई सकस परेको हो ।

 

देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको विवरण कात्तिक मसान्तभित्र पठाइसक्नुपर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई एकसाथ परिपत्र गरेको थियो ।

 

तर, यहाँका तीन स्थानीय तहले भने सो प्रक्रिया पूरा नगरेको पाइएको छ । पत्रअनुसार दरबन्दी मिलान तथा पुनः वितरणको सन्दर्भमा कटौती हुने (खुद पुल दरबन्दी रहेका) स्थानीय तहबाट तोकिएको सोही जिल्लाको अर्को दरबन्दी थप हुने स्थानीय तह वा सोही प्रदेशको दरबन्दी थप हुने अर्को जिल्लाको स्थानीय तहमा दरबन्दीसहित सरुवा भई जान इच्छुक शिक्षकको निवेदन माग गरी जिल्लाभित्रको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले दरबन्दीसहित सरुवा व्यवस्थापन गरी त्यसको जानकारी केन्द्रमा पठाउनुपर्ने हुन्छ ।

 

दरबन्दी कटौती हुने जिल्लाबाट सोही प्रदेशको दरबन्दी थप हुने जिल्लामा सरुवा भई जाने शिक्षकलाई सम्बन्धित इकाईको सरुवा सहमतिसहित व्यवस्थापनका लागि सम्पूर्ण विवरण केन्द्रमा पठाउनसमेत परिपत्र गरिएको थियो ।

 

अपांगता भएका विद्यार्थीको साविकदेखि स्रोत कक्षा संचालन हुँदै आएको (स्रोत कक्षा संचालनका लागि अनुदान प्राप्त) विद्यालयमा प्रति स्रोत कक्षा एक जना प्राथमिक तहको स्रोत शिक्षकको दरबन्दी कायम गरी अन्य शिक्षकको हकमा मात्र दरबन्दी मिलान कार्य अघि बढाउन मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तह तथा शिक्षा समन्वय इकाईलाई परिपत्र गरेको छ ।

 

तर, यहाँका तीन स्थानीय तह केन्द्रबाट प्राप्त पत्रअनुसारको कार्य गर्नबाट छुटेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।