close

बाग्लुङ सदरमुकामबाहिर फाइबर विस्तार

बाग्लुङ सदरमुकामबाहिर फाइबर विस्तार

Trulli
ADVERTISEMENT

बाग्लुङ- नेपाल टेलिकमले बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्रमा फाइबर सेवा विस्तार गरेको छ । टेलिकम बाग्लुङले सदरमुकाम क्षेत्रबाहिर पहिलो पटक फाइबर सेवा विस्तार गरेको हो ।


फाइबर सेवा विस्तार भएसँगै नगरपालिकाको वडा- १३ र १४ का टोलटोलमा उच्च गतिको इन्टरनेट चल्न थालेको छ ।


द्रुत गतिको इन्टरनेट र भ्वाइसका लागि टेलिकमले बाग्लुङको बलेवा क्षेत्रमा फाइबर सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिन सकेका छन् ।


नेपालमै बाग्लुङ बजारबाट पहिलो पटक सुरु भएको ‘फाइबर टु द होम’ अभियानअन्तर्गत पुरानो तामाको तार विस्थापित गरेर फाइबर जडान गरिएको हो ।


द्रुत गतिको इन्टरनेटकै कारण बाग्लुङ नगरपालिका वडा- १३ पैयुँपाटाका चूडामणि शर्मा मोबाइलमा बिहान-बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ, जसरी पनि किन्नू भनेर कर गरेपछि उनले मोबाइल खरिद गरेका हुन् ।


यसअघि मोबाइल डाटाबाट इन्टरनेट चलाउँदा निकै खर्चिलो हुने भएकाले उनले अत्यावश्यक काममा मात्र डाटा लिन्थे ।


बलेवामा विस्तार गरिएको फाइबर सेवाले बालबालिकादेखि वृद्ध र वयस्कमा खुसी छाएको छ । केटाकेटीले अनलाइन पढ्छन् । अड्किने इन्टरनेटले समस्या थियो’, शर्माले भने, ‘फाइबर सुविधा थपिएपछि सबै समाधान भयो ।’

 

टेलिकम बाग्लुङले बलेवा क्षेत्रका दुई वडामा ५१२ लाइन पुर्‍याउन सकिने गरी सेवा विस्तार गरेको हो । ‘भ्वाइसका लागि ल्यान्डलाइन र इन्टरनेटसमेत एउटै राउटरबाट चल्ने गरी विस्तार भएको छ’, टेलिकम बाग्लुङका प्रमुख केशव शर्माले भने, ‘तामाको तारको तुलनामा द्रुत गतिको भ्वाइस र इन्टरनेट फाइबरबाट वितरण हुन्छ ।’


उच्च गतिको इन्टरनेट गाउँमै पुगेपछि स्थानीयलाई सहज भएको वडा नम्बर- १३ का वडा अध्यक्ष नारायण पौडेलले बताए । ‘कार्यालयदेखि विद्यालयका लागि अब रोकिनुपर्ने इन्टरनेट रहेन’, पौडेलले भने, ‘निजी क्षेत्रको एकाधिकार टेलिकमले तोडिदियो ।’


टेलिकमले आवश्यकताअनुसार आठदेखि ६० एमबीपीएससम्मको इन्टरनेट र भ्वाइसका लागि ल्यान्डलाइन फोन वितरण गरेको छ ।


बलेवामा पहिलो पटक विस्तार भएको फाइबर जिल्लाका कुश्मीसेरा, गलकोट, बुर्तिवाङ, खर्वाङलगायतका क्षेत्रमा पुर्‍याइने बाग्लुङ शाखा प्रमुखले जानकारी दिए ।