close

निजी स्रोतका शिक्षकलाई तलब खोइ अध्यक्षज्यू ?

निजी स्रोतका शिक्षकलाई तलब खोइ अध्यक्षज्यू ?

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूले गाउँपालिकालाई २४ घन्टे अल्टिमेटम दिएका छन् ।


गत चैतदेखि तलब नपाएकाले यथाशीघ्र निकासा गर्न माग गरिएको निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् ।


‘२०७६ चैतदेखिको तलब निकासा, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायत सुविधा उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलबभत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबभत्ता निकास गर्नुपर्ने माग राखेर आन्दोलन गर्दै छौँ’, अध्यक्ष चन्दले भनिन् ।


गाउँपालिकाले २४ घन्टाभित्र माग सुनुवाइ नगरे आन्दोलनमा जाने चेतावनी निजी स्रोत शिक्षक संघर्ष समितिले दिएको छ ।


पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।


सिगास गाउँपालिभरका सामुदायिक विद्यालयमा १९१ जना निजी स्रोतका शिक्षक कार्यरत छन् । कोरोना महामारीमा पनि तलब निकासा नहुँदा चुह्लो बाल्न समस्या परेको उनीहरूको गुनासो छ ।