close

नमोबुद्धमा सुरु भयो भू-सेवा केन्द्र, पक्की सडक हस्तान्तरण

नमोबुद्धमा सुरु भयो भू-सेवा केन्द्र, पक्की सडक हस्तान्तरण

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिकाले मंगलबार सातौँ स्थापना दिवस मनाएको छ ।


पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले सुरु गरेको भू-सेवा केन्द्रको उद्घाटनसमेत गरिएको छ ।


नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे-दारेगौँडा-नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरणसमेत गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका- ४ मा निर्माण भएको कभर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ ।

 

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले पक्की सडक र भू-सेवा केन्द्रको उद्घाटनसमेत गरे ।


प्रदूषणजन्य उद्योग विस्थापन सकारात्मक


कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले भकुण्डे बजारमा रहेका प्रदूषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खुसी व्यक्त गरे ।


इँटा उद्योग विस्थापनपछि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ बनेको उनको भनाइ छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको भन्दै उनले अहिलेको कार्यकालमा रहेका जनप्रतिनिधिले विकासको जग बसाल्ने र अर्को कार्यकालमा आउनेले त्यसलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको बताए ।


खानेपानीको समस्या रहेको नमोबुद्धमा पानी व्यवस्थापनका लागि संघीय सरकारले पनि विशेष पहल गरिरहेको उनले बताए । यस वर्ष मात्र काभ्रे क्षेत्र नं.- १ मा ११ वटा विद्यालय निर्माण भएका भन्दै उनले नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।


भकुण्डे क्षेत्र बैंक, विद्यालय, कलेज, अस्पताल, होटल तथा रेस्टुरेन्टलगायतको सेवा क्षेत्रको रूपमा विकसित हुन सक्ने भएकाले यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने उनको भनाइ छ ।


पूर्वमन्त्री बाँस्कोटाले नेकपाले चुनावको समयमा जनता समक्ष गरेको प्रतिवद्धतालाई बिर्सन नहुने बताउँदै कार्यकर्तालाई निराश बनाउने काम नगर्न नेतृत्वलाई खबरदारी पनि गरे ।

 

उनले नेकपा फुटाउने धृष्टता कसैले पनि गर्न नसक्ने भन्दै लोकतान्त्रिक विधिबाट निर्धारित समयमा नै पार्टीको अधिवेशन गर्न आग्रह गरे । ‘पार्टीको शीर्ष नेतृत्वले अधिवेशन गर्न सक्दैन भने घोषणा गरोस्, हामी गरेर देखाउनेछौँ’, बाँस्कोटाले भने ।


उनले पार्टीभित्र केही आग्रह पूर्वाग्रह हुने भन्दै कुनै कमजोरीमा टेकेर एउटा पक्षले अर्को पक्षमाथि लक्षित गरेर हमला नगर्न नहुने बताए ।


बाँस्कोटाले नेकपामा तलमाथि भएको खण्डमा नेपालको राजनीतिक व्यवस्थाका साथै संघीयता, लोकतन्त्रसमेत खतरामा पर्ने बताए  । उनले नेताले दायित्वबोध जवाफदेही लिएर आफ्ना कदमहरू चाल्नुपर्ने धारणा राखे ।


‘सरकारले काम गरेन भन्नु बेतुकको हल्ला’


कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङले करिब दुई तिहाइको वर्तमान सरकारले केही काम गर्न सकेन भनेर बेतुकको हल्ला मच्चाएको बताए । नेकपाको सरकारले गरेका कामहरू सुरुवात मात्र भएको बताउँदै आगामी दिनमा विकास निर्माणका धेरै कामहरू हुने उनको दाबी छ ।


नगरप्रमुख भन्छन्ः पूर्वाधारमा धेरै काम भएका छन्


कार्यक्रममा नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले जनताको अपेक्षाअनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पूरा हुने बताए । उनले नगरभित्र सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोडसहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको पनि जानकारी दिए ।


कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, संविधानसभा सदस्य रामहरि सुवेदी, पूर्वमन्त्री तथा संविधानसभा सांसद रेशम लामालगायतले समसामयिक राजनीतिक गतिविधि र नगरका विकासबारे धारणा राखेका थिए ।


कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी गराए ।


स्थापना दिवसको अवसरमा नगरको विकासमा हातेमालो गर्ने संचारकर्मीसहित विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।


‘जनप्रतिनिधिका तीन वर्ष’ सार्वजनिक


स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भए गरेका कामहरू समेटिएको पुस्तक ‘जनप्रतिनिधिका तीन वर्ष’ सार्वजनिक गरिएको छ ।