close

१५ वर्षदेखि उपभोगविहीन बहुउद्देश्यीय मैदानमा बन्यो बसपार्क

१५ वर्षदेखि उपभोगविहीन बहुउद्देश्यीय मैदानमा बन्यो बसपार्क

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीदेखि बाग्लुङ र पश्चिमी क्षेत्रमा चल्ने सवारी साधन पार्किङका लागि बसपार्क संचालन भएको छ । उद्योग वाणिज्य संघले १५ वर्षअघि म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले बसपार्क संचालन गरेको हो ।


प्रयोगविहीन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबारा र पूर्वाधार तयार गरेर मंगलबारदेखि बसपार्कको रूपमा संचालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।


बेनी-दरवाङ, बेनी-पाखापानी, बेनी-बरंजा, बेनी-बाग्लुङलगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी यही बसपार्कबाट छुटाउन थालिएको छ । बसपार्क संचालन भएपछि सडकमै यात्रुवाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हटेको छ ।


यसअघि बेनी नगरपालिकाको कार्यालय अगाडि, हाडेभिर, बेनी सामुदायिक मावि र बजारका सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा दुर्घटनाको जोखिम थियो । बसपार्क संचालन भएपछि बजारलाई व्यवस्थित र दुर्घटना न्यूनीकरणका लागि सहयोग पुगेको बेनीका जयबहादुर अधिकारीले बताए ।

 

बेनी नगरपालिका- ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले मैदानलाई ग्राभेल गरेर सम्याउनुका साथै, खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सीसीटीभी क्यामेरा जडान र बत्ती जडान गरेको बताए । यातायात व्यवसायीका टिकट काउन्टरलाई नयाँ बसपार्कमा सारिएको छ । यसअघि बेनीको कालीपुलमा मात्र बसपार्क थियो । कालीपुल बसपार्कमा उत्तरी क्षेत्र, मुस्ताङ र लामो दूरीका सवारी साधन पार्किङ हुने गरेका छन् ।  


मैदानको डिलतर्फ नगरपालिकाले १४ लाख रुपैयाँ खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङ स्थलको पूर्वाधार बनाउन थप पाँच लाख ५० हजार रुपैयाँ खर्च भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने मैदानमा म्याग्दी र कालीगण्डकीको दोभानबाट ग्राभेल ल्याएर हालिएको छ ।


नियमित पानी हालेर धुलोको समस्या कम गराउन र दीर्घकालीन हिसाबले व्यवस्थित गर्न बसपार्कलाई पिच अथवा ढलान गर्नुपर्ने यातायात व्यवसायी ललित जीसीले बताए ।


२०६२ सालमा उद्योग बाणिज्य संघको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्याएर मैदान बनाएका थिए । करिब २०० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात व्यवसायीले बताएका छन् ।


प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले पार्किङ स्थल संचालनमा आएपछि बजारभित्रको ट्राफिक व्यवस्थापन र आवतजावत सहज भएको बताए ।


नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पार्किङ प्रभावकारी बनेको छ । साँघुरो सडक भएको बेनी बजारमा हुने जाम हटाउन कालीगण्डकी नदी किनारमा बनाइएको बाहिरी सडकबाट मालवाहक सवारी साधन आवतजावत गराउन थालिएको छ ।


पार्किङ स्थलको सुरक्षाका साथै बजारभित्रै र बजारभन्दा बाहिरबाट सामान बोक्ने अनुमति पाएका निजी सवारी साधनले क्षमताभन्दा बढी संख्यामा यात्रु बोक्ने समस्या पनि नियन्त्रण गर्नुपर्ने म्याग्दी यातायात प्रा.लि.का अध्यक्ष लालबहादुर थापाले बताए ।


मैदानभित्र कृषि हाटबजार संचालनका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर बनाइएको टहरालगायतका संरचना पनि प्रयोगविहीन छन् । कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पतालसँग समन्वय गरेर ती संरचना प्रयोगमा ल्याउन पहल गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।