close

अपांगतामैत्री छैनन् महानगरकै सामुदायिक विद्यालय

अपांगतामैत्री छैनन् महानगरकै सामुदायिक विद्यालय

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको भौतिक पूर्वाधार अपांगतामैत्री नभएका गुनासो गरेका छन् । महानगरपालिकाले अपांगता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवस २०२० को अवसरमा आयोजना गरेको अपागंता भएका बालबालिकको शिक्षामा पहुँच विषयक भर्चुअल छलफलमा उनीहरुले यस्ता गुनासा गरेका छन् ।

 

माथिल्लो तल्लामा रहेका कक्षामा अपांगता भएका विद्यार्थीलाई सकस हुने गरेको उनीहरुको भनाई छ । प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्य घिमिरले पुराना संरचना अपांगतामैत्री नहुँदा पठनपाठनमा समस्या भएको बताए । अपांगतामैत्री संरचना नहुँदा अपांगता भएका विद्यार्थीलाई आवतजावतमा नै समस्या भएको भन्दै उनले नयाँ संरचना पनि भुइँ तल्ला मात्रै अपांगतामैत्री भएको बताए  ।


त्रिपद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक कदमवावा प्रधानले विद्यालयमा निर्मित नयाँ संरचनाको भुँइ तल्ला मात्रै अपांगतामैत्री भएको भन्दै विद्यालयको सिंगो भौतिक संरचनालाई अपागंतामैत्री बनाउनुपर्ने धारणा राखिन् ।


नमूना मछिन्द्र विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले अपांगतामैत्री संरचना भएमात्रै उनीलाई प्रभावकारी तरिकाले शिक्षण गर्न सकिने बताए । संरचनाको अभावका उनीहरुको सिकाई नै प्रभावित हुने धारणा राख्दै त्यस्ता पूर्वाधार निर्माणका लागि महानगरले ध्यान दिनुपर्ने महतको भनाइ छ ।


मदन स्मारक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल अपांगतामैत्री संरचनाले अपांगता भएकाहरुको मनोबल बढ्ने धारणा राख्दै त्यस्ता संरचना निर्माणका तत्काल सुरु गर्नुपर्ने बताए ।

बालविनोद माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव खतिवडाले अपांगता भएका व्यक्तिहरुको मनोबल बढाउन भौतिक संरचना अपांगतामैत्री हुनुपर्ने धारणा राखे । उनले विद्यालयको पुराना संरचनाहरु अपांगतामैत्री बनाउनुपर्नेमा जोड दिए ।


आदर्श सौल माध्यमिक विद्यालयका सरोज आचार्य भौतिक पूर्वाधारले विद्यार्थी र शिक्षकको आत्मविश्वास बढाउने बताउँदै अपांगता भएकाहरुलाई प्रेरित गर्न अपांगतामैत्री संरचना निर्माण गर्नुपर्ने बताउँछन् । कार्यक्रममा चण्डी आर्दश माध्यमिक विद्यालयका कुलबहादुर विश्वकर्माले सहज तरिकाले पठनपाठन गराउन विद्यालयको संरचना अपांगतामैत्री  हुनुपर्ने बताए ।


कार्यक्रममा महानगरभित्रका सामुदायिक विद्यालयका १५ जना प्रधानाध्यापकहरुको सहभागिता थियो । ललितपुर महानगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय छन् ।


महानगरले यो दिवस मनाउन महानगरका उपप्रमुख गीता सत्यालको संयोजकत्वका मूल समारोह समिति गठन गरेको छ । महानगरको २९ वटै वडामा अपांगता बुझाउने र अपांगतालाई सम्बोधन गर्दा प्रयोग गरिने मर्यादित शब्दहरु लेखिएको बोर्ड राखिनेछ । त्यसैगरी अपांगता भएका खेलाडीहरुसँगको अन्तक्र्रिया कार्यक्रम राखेको छ । महानगरभित्र बनेका अपांगता मैत्रीपार्कहरु अवलोकन कार्यक्रम समेत छ ।


उपप्रमुख सत्यालले ललितपुर महानगर अपांगता भएकाहरुको अधिकार संरक्षण र हितका लागि संवेदनशील भएको बताइन् । महानगरले अपांगतासम्वन्धी कार्यविधि ल्याएको बताउँदै अपांगता परिचय पत्र वितरण गरेको जानकारी दिइन ।
 

महिला, बालबालिका महाशाखा प्रमुख महेश्वरी रावल विष्टले महानगरले यो दिवसको छुट्टै नारा तय गरेको बताइन् ।