close

कानुन सिक्दै जनप्रतिनिधि

कानुन सिक्दै जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्थानीय कानुन तर्जुमा तथा सभा सञ्चालन सिकाइ अभ्याससम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ ।

गाउँपालिका महासंघको आयोजनामा स्थानीय जनप्रतिनिधिलाई कानुन पढाउन थालिएको हो ।
 

गाउँपालिका राष्ट्रिय महासंघका सचिवालय सदस्य तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघीय संरचनाअन्तर्गत पाएको राजनीतिक, प्रशासनिक र वित्तीय अधिकार उपयोगका लागि कानुनको ज्ञान हुनुपर्नेमा जोड दिए ।

 

‘स्थानीय कानुन बनाउन स्थानीय तहका जनप्रतिनिधिहरू सक्षम हुनुपर्छ । उनीहरू सक्षम भए मात्र स्थानीयले कानुनी उपचार पाउन सक्छन्’, कक्षपतिले भने ।


राप्तीसोनारीका अध्यक्ष लाहुराम थारुले यस्तो सिकाइ कार्यशाला स्थानीय सरकार सञ्चालनको सुरुआती चरणमै गरिनुपर्नेमा ढिलै भए पनि कार्यक्रम आयोजना भएकामा खुसी व्यक्त गरे ।


कार्यशालामा संघले स्थानीय तहलाई दिएको २२ वटा एकल अधिकार र अन्य साझा अधिकार कसरी उपयोग गर्ने, कानुुन कसरी बनाउने भन्ने विषयमा विषयविज्ञ तथा अधिवक्ता प्रेम धितालले सहजीकरण गर्नेछन् ।


कार्यशालामा कानुन तर्जुमा, विधेयक कसरी ल्याउने र सभा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।


राप्तीसोनारीका सम्पूर्ण जनप्रतिनिधि सहभागी कार्यशालामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले जनप्रतिनिधिलाई कानुन सिकाएपछि व्यवहारमा लैजान सहयोग पुग्ने बताइन् ।


गाउँपालिका राष्ट्रिय महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले स्थानीय जनप्रतिनिधिलाई कानुनको ज्ञानबारे प्रशिक्षित बनाउन तालिम आयोजना गरिएको जानकारी दिए ।