close

तिनाउ-दानव करिडोरमा स्थानीयको अवरोध

तिनाउ-दानव करिडोरमा स्थानीयको अवरोध

Trulli
ADVERTISEMENT

रुपन्देही– बुटवलको तिनाउ र दानव नदीलाई आधार बनाएर निर्माण थालिएको तिनाउ दानव करिडोरमा स्थानीयले अवरोध गरेका छन् । त्यस क्षेत्रमा पर्ने घरटहरा व्यवस्थापन नगरी काम थालिएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । कैलाशनगरमा शुक्रबार भेला भएका स्थानीयले आन्दोलन चर्काेउने निर्णय गरेका छन् ।


कार्यक्रममा कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले तिनाउ तथा दानव नदी किनारमा निर्माण गरिने करिडोरका लागि काम सुरु हुनुपूर्व स्थानीयको घरबासको उचित व्यवस्थापन हुनुपर्ने बताए । पाण्डे उपमहानगरको नगरप्रमुखका प्रत्यासी थिए ।


तिनाउ र दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घरटहरा हटाउने गरी लिखित प्रतिबद्धता जनाएका निकायहरूले काम सुरु हुनै लाग्दासमेत व्यवस्थापन नगरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।


संघीय सरकारको लगानीमा निर्माण हुन लागेको करिडोरका लागि ७ सय ५ घरटहरा विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । तिनाउ र दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ ।


करिडोर क्षेत्रमा जग्गा तथा मुआब्जा समस्या नरहेको स्थानीय निकायले बताए पनि देवीनगर तथा बुद्धनगर क्षेत्रमा रहेका बस्तीका बासिन्दाले विरोध सुरु गरेका छन् ।


पहिलो चरणमा ५० किलोमिटर सडकको डिपीआर तयार भई काम सुरु हुन लागेको हो । तिनाउ नदीको वारपार ३५ र दानव नदीको वारपार गरी १५ किमिमा सडक निर्माण गरिनेछ ।


यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताए । करिडोरको केही दिनअघि संघीय अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए ।


‘गरिब जनताको गास, बासको व्यवस्थाबिना करिडोर निर्माण गर्न नदिइने संघर्ष समितिका अध्यक्ष बाबुराम उपाध्यायले जानकारी दिए । ‘माग सम्बोधनका लागि डिभिजन सडक कार्यालय बुटवल, बुटवल उपमहानगरका ४ वटा वडा कार्यालयमा ज्ञापनपत्र बुझायौँ,’ उपाध्यायले भने ।


ज्ञापनपत्रमा खोलाको क्षेत्रफल, सडकको भाग, फुटपाथ, हरियालीलगायतको क्षेत्रफल टुंग्याउन, अर्थमन्त्री पौडेल बोलेको र सडक कार्यालयका इन्जिनियरले भनेको विषयमा फरक तथ्यांक सार्वजनिक भएकाले अन्योल देखिएको उनले दाबी गरे । स्थानीयले करिडोर निर्माणको काम घोषणा गरिएको जिरो बिन्दुबाट सुरु नगरेर बीच भागबाट गर्नुपर्ने माग अगाडि सारेका छन् ।